काठमाडौं । पाकिस्तानको अदालतले प्रधानमन्त्री पदमा छँदैमा भ्रष्ट व्यक्ति भनेर बर्खास्तमा पर्दा पद गुमाएका नवाज शरिफलाई अन्तिम फैसलामा पनि भ्रष्टाचारी ठहर गरिदिएपछि उनको सत्तामा आउने सम्भाबनामा ब्रेक लागेको छ ।
पनामा पेपर्समा कालोधन थुपारेको आरोप लागेका नवाज शरिफलाई अव जेल सजाय हुनसक्ने सम्भाबना छ । नवाज शरिफमात्र होइन, उनका छोरी र ज्वाईंसमेत दोषी मानिएका छन् ।
एएफको समाचारअनुसार छोरी र ज्वाईं लण्डनमा थुपारिएको सम्पत्तिमा तानिएका हुन् । शरिफकी छोरीले अदालतको फैसला नमान्ने भनेकी छिन् भने ज्वाईं मौन रहेका छन् ।
पाकिस्तानमा राजनीतिभन्दा पनि सेना र अदालत साह्रै दह्रो रहेको मान्यता छ र घटनाक्रमले पनि यही कुरा शिद्ध गर्दै आएको छ । न्यायाधीशहरु कुनै राजनीतिक दबाब र प्रभावमा पर्ने गरेका छैनन् भने सेना जहिले पनि राजनीति दायाँबायाँ भयो कि सत्ता हातमा लिन बेल लगाउँदैन ।
यहीकारण पाकिस्तानी राष्ट्रवाद बलियो मानिन्छ र भारतसँग टक्कर लिएर बसेको छ । न्यायाधीशहरु कसैको लोभलालचमा नपरी देशको हितअनुकूल निर्णय गर्ने गरेका छन् ।
देशको प्रधानमन्त्रीलाई बर्खास्त गर्नसक्ने अदालत कति बलियो होला ?
के नेपालमा यस्तो कुरा सम्भव छ ? छैन किनभने न्यायाधीशहरु राजनीतिक नियुक्ती पाउने लस्करका व्यक्तिहरु छन् भने न्याय सम्पादन भनसुन र लोभका आधारमा हुनथालेको आरोप छ । स्वयम् बेला बेलाका प्रधानन्यायाधीशरु अदालतमा सुधार्नुपर्ने धेरै कुरा छन् र भ्रष्टाचारले जरो गाडेको छ भनिरहेका छन् ।
र, नेपाल बार पार्टीको अखडा बनेको र सबैभन्दा ठूलो भ्रष्टाचार त्यहीबाट सुरु भएको आरोप पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले खुलेआम आरोप लगाएकी छिन्, जुन यु ट्युवमा अहिले पनि सुन्न सकिन्छ ।
न्यायालयको बेहालतका कारणले नेपालमा कानुन कमजोर र राजनीति बलियो बन्दै गएको छ । जहाँ राजनीति बलियो हुन्छ, त्यहाँ न सुशासन हुन्छ, न बिधिको शासन नै ।