फागुन १६ गते एमाओवादी अध्यक्ष तथा ३० दलीय मोर्चाका अध्यक्ष प्रचण्डको 'यो प्रचण्ड' रुप हो। देशभरिबाट कार्यकर्ताको भीड जम्मा भएका थिए खुलामञ्चमा र प्रचण्ड यसरी आक्रोसित मुद्रामा जनताको रगत तताउँदै थिए। नारायणकाजीले बोल्न पाएनन्, तर बाबुराम र प्रचण्डले जे बोले, जसरी बोले, त्यसबाट एमाओवादीको हैसियत बाँकी छ भन्ने सत्तापक्षलाई प्रष्ट भयो। यही कुरा बाबुरामले मुम्बई पुगेर पनि बताए– माओवादी सिद्धियो भन्नेलाई देखाइयो। २ दिनअघिसम्म मलाई प्रतिगामी क्वार्टरले सिध्याउन खोजे भनेर खोकिरहेका प्रचण्डले १६ गते बहुमतीय प्रक्रिया रोक, वार्तामा बस्छौं भनेर सत्तापक्षलाई निम्तो दिए। रिसाएर फन्फनिने र कुरा गरौं भन्ने शैली कतिले बुझे, कतिले बुझेनन्। यद्यपि उनले होलीसम्म प्रक्रिया नरोकिए जिल्लाजिल्लाबाट विद्रोह हुनेछ भनेर धम्क्याउन बाँकी राखेनन्। र, उनले भने म जनताको अधिकारका लागि मर्न तैयार छु।
हो, खुलामञ्चमा अटाई नअटाई मान्छेको भीडले ३० दलको जनशक्तिको नाक बच्दैनथ्यो। प्रतिपक्षीको नाक जोगाई दिन यी बालक पनि टाउकोमा रातो लिम्बुवान बाँधेर उत्रेका थिए। लिम्बुवान प्रदेशप्रतिको यो बालजागरणले नेपालको रक्षा, सुरक्षा गर्ला कि नेपाललाई धुजा धुजा पार्नेतिर उन्मुख गराउला? २०५२ सालमा जनयुद्धमा होमिने युवाहरु प्रौढ भइसके, तिनले केही पाएनन्, तिनको जोश मरिसकेको छ। आजका यी बालक भोलि युवा र प्रौढ हुनेछन्, तिनले यस्ता जुलस, भाषणबाट के सिक्लान्? भोलिका कर्णधार बन्नुपर्ने यी बालक यस्तै भताभुङ्गे लोकतन्त्रको बाटो हिडेर स्वाधीन देश निर्माणको अभिभारा बोक्न सक्लान्? यसबारे ३० दलका नेताहरुले केही बोल्ने साहस गरे राम्रै हुनेथियो। सत्तारुढ छ एमाले, प्रचण्डले कांग्रेसमा बिलयन भए हुन्छ भनेर तीतो पोखे र भन्छन्ः सहमतिमा संविधान बनाउन वार्तामा बस्छौं। तीतो पोख्ने, एकदोस्राप्रति विषालु भावना राख्ने अनि भन्ने सहमति गरौं। नेताहरु सभ्य हुनुपर्छ, पार्टीहरु सालिन बन्नुपर्छ र वार्तामा बस्नुपर्छ। तव न सहमति हुनसक्छ, निकास निकाल्न सकिन्छ। राज्य पुनर्संरचना जस्तो गहन कार्य गर्न तम्सेका राजनीतिक दलहरु कसैले अलिकति पनि अहं राख्नुहुन्न र पार्टी दायराबाट राष्ट्रिय दायरामा उभिन सक्नुपर्छ। एकले अर्कोलाई भष्म पारिदिन्छु भनेर धम्क्याउने, प्रक्रियाबाटै संविधान बनाइन्छ भनेर धमास देखाउनु भनेको हिजोको पुस्ता बिग्रियो, वर्तमान पुस्ता जिल्लिने र आगामी पुस्तालाई पनि दिग्म्रमित पार्ने कार्य होइन र? मुम्बई पुगेर आज दिल्ली आउने तैयारीमा रहेका डा.बाबुराम भट्टराईले टाउकाको मूल्य तोक्ने र ठेलगाडा चढेर अमेरिका पुग्न सकिदैन भनेर खिल्ली उडाउनेहरुलले संविधानसभा अपहरण गरेकाले हामी जनअधिकारका लागि जनताका माझ जान बाध्य भएको बताएका छन्। तर उनले द्वन्द्वभन्दा वार्ताबाटै जनताको पक्षमा संविधान बनाउन एमाओवादीले चाहेको बताउन बिर्सेनन् र उनले सत्तापक्षलाई पूर्व सहमति र सम्झौताहरु सम्झन आग्रह गरे। हामीलाई संघर्षमा जान बाध्य नपारियोस् भन्ने चाहना राखेको भन्दै सत्तापक्षको चेत खुलेन भने देशव्यापी रुपमा सरकार ठप्प पार्ने बताए ।