Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भन्सारका कर्मचारीको माफियालाई सेवा

०९ सोमबार , आश्विन २०७४७ बर्ष अगाडि

काठमाडौं । एउटै प्रज्ञापनपत्रले पटक पटक सामान छाड्ने र राजस्व मारेर खल्ती भर्ने काम भन्सारका कर्मचारीले गरिरहेका छन् । यद्यपि सबै भन्सार अड्डाहरुमा सुरक्षा निकाय, अनुसन्धान र अन्य सुराकीसमेत कार्यरत रहेका हुन्छन् । यी सबैको पहिचान राखेर माफिया तस्करहरुले सबैलाई सेटिङमा मिलाउने जुन करतव र कसरत गरेर राष्ट्रको राजस्व मारिरहेका छन्, त्यसले देशको हालत भ्रष्टाचारी बनाउन सफल भएको छ । योभन्दा पनि राष्ट्रको तलव भत्ता खाएर कर्मचारीले जसरी माफिया तस्करको सेवा गरिरहेका छन्, त्यो देखेर सुनेर कर्मचारीमा इमान नरहेको प्रष्ट भएको छ ।
रसुवा नाकाबाट सुन छुट्यो, कसरी ? एयरपोर्ट भन्सारबाट साँढे ३३ किलो सुन पक्राउ पर्‍यो, दैनिक सय किलो सुन तस्करी भइरहेको छ, कसरी सम्भव भयो ? भैरहवा नाकाबाट एउटै प्रज्ञापनपत्रबाट थुप्रै गाडीहरु नेपाल भित्रिए र यातायातमा दर्ता हुन भ्याए, यसका पछाडि कसकसको हात छ ? हरेक दिन रक्तचन्दनदेखि वन्यजन्तुका अंग र अनेक सामानको तस्करी भन्सार नाकाहरुबाट भइरहेका छन् । यी सबै तस्करीमा भन्सारका कर्मचारी र भन्सारमा खटिएका सबैखाले राष्ट्रसेवकको हात छ । हात छ भने तिनलाई किन कारवाही हुन्न, भन्सार र राजस्वका कर्मचारीको आर्थिक हैसियत ह्वात्तै बढ्छ कसरी, यसमा छानबिन हुनुपर्छ कि पर्दैन ?
कर्मचारी सरकारको, तलव खाने जनताले तिरेको करबाट र सेवा दिने माफिया तस्करलाई ? योभन्दा ठूलो अपराध अरु के हुनसक्छ ? जतिपनि तस्करी र अपराधिक क्रियाकलाप भइरहेको छन्, त्यसमा भन्सार र खटिएका सुरक्षाकर्मीको बढी हात रहेको प्रष्ट छ । तैपनि एकाध सुन, सामान पक्राउका घटना हुन्छ, समाजलाई त्यसैमा रङ्मङगाएर तस्कर माफियाहरु तस्करीधन्दा झन बढी चलाइरहेका छन् । स्रोत भन्छ– तस्कर माफियाहरुले महिनाको एक दिन कहिले कुनै, कहिले कुनै भन्सार कार्यालय ठेक्कामै लिन्छन् र त्यही दिन इधरका सामान उधर, उधरका सामान इधर गर्नेगर्छन् । केही दिन अघि नेपाल एयरलाइन्सका बरिष्ठ पाइलट नै विदेशी मुद्रा तस्करीमा पक्राउ परे र छुटे, उनीमाथि कुनै कारवाही नै भएन । यस्तो देशमा केको सुशासन र लोकतन्त्रको गफ गर्नु र ?
विधिको शासन भएका देशमा व्यक्तिको अनुहार हेर्ने अथवा राजनीतिक र प्रशासनिक दबाबलाई वास्ता गरिदैन । नियम र कानुनले जे मिल्छ, त्यो गर्छन्, मिल्दैन टेर्दैनन् । तर नेपालमा नियम कानुनलाई मिचेर सरकारी कर्मचारीहरु नै तस्कर माफियाको आदेश पालना गर्छन् र राष्ट्रालाई अहित गर्दै व्यक्तिगत लाभ लिन्छन् भने त्यस्तालाई कारवाही नगरेसम्म यो देशमा माफियागिरीको अन्त होला र ?