काठमाडौं । हो त नि, ५६ भइसके, ५७ भएर के फरक पर्छ । त्यसै पनि प्रधानमन्त्री देउवाले अझै केही मन्त्री थप हुनसक्ने बताइसकेका छन् । थप हुनेमा मन्त्री हुनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी डा.गोविन्द पोखरेलले जन्मजात कांग्रेसी भएको र कांग्रेसी नातापाता सबैको शक्ति अजमाउन थालेका छन् ।
पहिले वैकल्पिक उर्जामा हुँदाको फाइल खोल्ने हो भने निलम्बनमा पर्नसक्ने, यिनको सम्पत्ति र स्रोत खोज्ने हो भने जेलमा जान सक्ने स्थिति भए पनि कोइराला परिवारका नातेदार भएकाले प्राधिकरणको कार्यकारी हुन पाएका यिनी मन्त्री बन्ने चक्करमा छन् ।
यद्यपि यिनी ०५८ साले मसाले हुन् र केहीले यिनलाई चैते कांग्रेस भने पनि यिनको शक्ति र सम्पत्तिको प्रभावले यिनका पछाडि थुप्रै कांग्रेसी सांसद र पहुँचवालाहरु परिक्रमा गरिरहेका देखिन्छन् । दिनमा ३ सय कल त कांग्रेसीसँगै कुरा गर्ने यी डाक्टर प्राधिकरणबाट देशको डाक्टर बन्न चाहन्छन् । मन्त्री बन्ने सपना जो देखेका छन् ।
यिनलाई चुनावमा टिकट दिने र मन्त्री बनाउने जिम्मा रामचन्द्र पौडेलले लिएका छन् । यिनले उनको आर्थिक महत्वाकांक्षा पूरा गर्ने रामचन्द्रले मन्त्री बनाइदिन भूमिका खेल्ने । यिनको थाप्लोमा अर्का कांग्रेसी नेता कृष्ण सिटौलाको बरद हात पनि रहेको छ ।