काठमाडौं । असोज २ मा प्रदेश नं २ को स्थानीय तहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएको छ । एकाध समस्याबाहेक यो निर्वाचन निर्विघ्न सम्पन्न भएको मान्नुपर्छ । बम पड्कने, गोलीचल्ने, धेरै हताहत हुने जुन हल्ला थियो, प्रहरी, सशस्त्र र सेनाको सुरक्षा घेराले ती सबै बिघ्नहरुलाई निस्तेज पार्न सफल भएको छ ।
चुनाव नेपालको, टाउको दुखाई भारतको । हिजो भएको २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय निकायको निर्वाचनमा भारतले विशेष अध्ययन गरेको छ र भारतीय दूतावासदेखि वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावाससम्म सबै काम छाडेर यही चुनावमा कांग्रेस र राजपालाई जिताउन खटिएको दृश्यले नेपालको चुनावमा भारतीय प्रत्यक्ष हस्तक्षेप अनुभव गरियो ।
दूतावास स्रोतका अनुसार १३६ स्थानमध्ये नेपाली कांग्रेसले ६२, राजपाले २४, संघीय फोरमले १६, एमालेले १५, माओवादी केन्द्रले १५, लोकतान्त्रिक फोरमले ३ र राप्रपाले १ स्थान जित्ने प्रक्षेपण गरिएको छ । खासगरी मधेसमा भारतीय दूतावासको विशेष प्रभाव रहेकोले दूतावासले गरेको सर्भे धेरै हदसम्म मिल्ने अनुमान गरिएको छ । यद्यपि पहिलो संविधान सभामा गरेको प्रक्षेपण हावादारी साबित भएको थियो ।
यसरी भारतीय दूतावासले गरेको विश्लेषणअनुसार मधेसी राजपा र दुई फोरमको सिट जोड्दा १३६ मा ४३ सिट जित्ने देखिन्छ । कांग्रेस, माओवादी र राजपालगायतको प्रभाव स्थापित गर्ने र एमालेलाई १५ सिटमा साँघुर्याएर एमालेको स्तर कायम गरी त्यसैमा अनुहार देखाइदिने उद्देश्य भारतीय दूतावासको रहेको देखिन्छ । तर नेपालका विश्लेषकहरुका अनुसार एमाले भारतीय दूतावासले अनुमान गरेकोजस्तो कमजोर छैन । चुनावको परिणाम दूतावासले निकालेको पूर्वनिष्कर्षभन्दा भिन्न आउन सक्ने बताइरहेका छन् ।
यद्यपि पछिल्ला केही समयदेखि एमालेले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेको र पछिल्लो एमाले अध्यक्ष केपी ओलीको थाइलेण्ड भ्रमणमा दिल्लीका दूतसँग भेटवार्ता भएको विषयसमेत यतिबेला राजनीतिक र कूटनीतिक बृत्तमा चर्चाको विषय बनेको छ । तथापि एमाले स्वाधीनता र राष्ट्रवादी धारलाई कायम गर्न सकेकाले यसको प्रभाव प्रदेश र केन्द्रको निर्वाचनमा समेत पर्नेछ । यहाँसम्म कि लामो राज्यकसरतबाट भरतपुर महानगरको निर्वाचनमा सत्ताधारीले जिते पनि नगर परिषदमा एमालेले बाजी मार्दा सत्ता तिलमिलायो । २ नम्बर प्रदेशको १३६ स्थानमा एमालेले चमत्कारिक परिणाम ल्याउन सक्यो भने प्रदेश र केन्द्रको निर्वाचनमा एमाले लहरलाई कांग्रेस, माओवादी, राजपाको जस्तोसुकै अपवित्र र असैद्धान्तिक गठबन्धन भए पनि रोक्न सक्ने देखिदैन । त्यसै एमालेले यही दशैं र तिहार लगत्तै एमालेको नेतृत्वमा सरकार बन्छ भनिरहेको छैन, यसको अर्थ राजनीतिभित्र राजनीति चलिरहेको छ र एमाले सत्तामा उक्लन प्रयास गरिरहेको देखिन्छ ।