Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संविधानको रङ कस्तो ? रातो, सेतो कि कालो

०२ सोमबार , आश्विन २०७४७ बर्ष अगाडि

आज सरकारी संविधान दिवस । सरकारी तरिकाले संविधान दिवस मनाइने छ । जनताले संविधान स्वीकार गरेर स्वागत र खुशी हुने संविधान दिवस मनाउने कहिले देखि ? अझै यसको अत्तोपत्तो छैन ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको हो । संविधान जारी भएदेखि जनताले संविधानको जयजयकार गरेको र संविधान दिवस मनाएको दृश्य देखिएको छैन । टुँडिखेलमा सेना, प्रहरी, सशस्त्र, स्कूले बालबालिका, स्काउटका केटाकेटी बोलाएर सरकारले संविधान दिवस कर्मकाण्डी रुपमा मनाउँदै आएको हो । आजको संविधान दिवस पनि त्यस्तै हुनेछ ।
टुँडिखेलमा जति सरकारी मान्छे जम्मा भएर संविधान दिवस मनाउने छन्, त्योभन्दा बढी संख्या माइतीघर मण्डलामा देखिने निश्चित छ । तराई मधेस राष्ट्रिय परिषदले असोज ३ गतेलाई कालोदिन भन्दै राम्रो भनिएको संविधान हाम्रो कहिले हुने ? भनेर प्रश्न उठाउने भएका छन् ।
आयोजकले शहिदहरुको रगतले रक्तरञ्जित संविधान पूर्ण रुपमा अस्वीकार गर्न र बहुसंख्यक जनताको पहिचान सहितको संधिवान स्थापित गर्न असोज ३ गतेलाई कालो दिन मनाउने निर्णय गरेर माइतीघर मण्डलामा संविधान च्यात्ने, आगो लगाउने कार्यक्रम बनाएको खबर छ । यसका लागि असन्तुष्ट सबैलाई माइतीघर निम्त्याएको छ ।
अर्थात विश्वमै उत्कृष्ठ भनिएको ०४७ सालको संविधान जसरी कामै नलाग्ने भनेर फालियो, २०७२ सालको संविधानको गति त्यही हुने लक्ष्यण छ ।
तथापि माओवादी भन्छ– शहिदको रगतले लेखिएको संविधान रातो संविधान हो । जनयुद्धको परिणाम हो । माओवादीको सबैभन्दा ठूलो उपलव्धि यही संविधान हो । माओवादीले अडान नलिएको भए संविधान जारी नै हुने थिएन ।
नेपाली कांग्रेस भन्छ– कांग्रेसले अगुवाई नलिएसम्म कुनै आन्दोलन सफल भएको छैन । जनआन्दोलन पनि कांग्रेसको नतृत्वमा सफल भएको हो । पहिलो संविधानसभाले संविधान लेख्न नसकेर माओवादीका नेता बाबुरामको नेतृत्वको सरकारले संविधानसभा बिघटन गरेको हो । तर कांग्रेसको अगुवाईमा दोश्रो संविधानसभाको निर्वाचनपछि संविधान जारी हुनसक्यो । यो संविधान कांग्रेसकै नेतृत्वमा कार्यान्वयन हुने निश्चित छ ।
एमाले भन्छ– संविधान लेखनदेखि जारी गरुन्जेल एमालेकै सक्रियता निर्णायक रह्यो । हुन पनि सभामुख थिए एमालेका नेता सुवास नेम्वाङ । उनको सक्रियतामा युरोपियनले समेत राम्रै खेलेका थिए, जसले गर्दा धर्मनिरपेक्षता भन्ने शव्द संविधानमा कसरी घुस्यो, आजसम्म रहस्य नै छ ।
तर बाँकी हिन्दुवादी, राजावादी, संसद इतरका माओवादी पार्टीहरु, मधेसका सिके लाल, सिके राउतदेखि सशस्त्र भूमिगत पार्टीहरु र राजपालगायतका मधेसी दलहरुले अझै पनि संविधानको अपनत्व स्वीकार गरेका छैनन । ठूला पार्टीहरुले जनसुझाव र जनमत विपरित हिन्दुधर्म र निरंकूशता हटाउने नाममा धर्मनिरपेक्षता र गणतन्त्र घोषणा गरेको मुद्दा उठाउने ठूलो पंक्ति संविधानको विरोधमा कायमै छ । यसबाहेक पूर्वराजाले पनि संविधान कार्यान्वयन नगरेको र ठूला पार्टीहरुले जनता र देशमाथि अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यद्यपि ठूला पार्टीका कार्यकर्ताले संविधानको जयजयकार गरिरहेका छन् । यही जयजयकारलाई ठूला पार्टीहरु संविधान सफल भएको ठानिरहेका छन् । जबकि असन्तोष र असन्तुष्टका मामिलाहरु बारुद बनेर संग्रहित भइरहेका छन् र ती बारुद बिस्फोटन भयो भने संविधान रातो, सेतो कि कालो हो, कसले बताउने ?