काठमाडौं । नपाल मान्छे किन्न पाइने सस्तो बजार बन्यो । अझ दलालहरुले नेपाली युवायुवतीलाई खाडीदेखि युरोपसम्म लगेर बेचिरहेका छन्, किन्नेले फेरि अर्कोलाई बेचिरहेका छन् । विश्वमा नेपालीजाति सस्तो बजारका आलुभ्याण्टा पो बन्नपुगे ।
खाडी मुलुकदेखि युरोपसम्म पुगेका नेपाली हरेक देशका जेलमा छन्, सडकमा छन्, श्रम र यौन शोषणमा छन्, नेपाली युवायुवतीको यस्तो बेहाल इतिहासमै पहिलोपल्ट भइरहेको छ । आफ्नै देशभित्र रोजगारी नपाएपछि तैपनि जीवन धान्न र सुख खोज्न जानेहरुको लर्को बढिरहेको छ । किन ? त्रिवि समाज शास्त्र विभागले यसबारे केही बोलिरहेको, भनिरहेको छैन ।
पहिले तरुनी बेच्थे, अहिले तरुना, तरुनी, बालबालिका सबैथरि मान्छे बेच्ने सस्तो मार्केट बनेको छ नेपाल । विदेशीका दलालका कमिशन एजेन्ट बनेर नेपालीहरु नेपालीकै ज्यान बेचिरहेका छन् । राम्रो काम, मीठो खाना, मनग्ये पैसा कमाइन्छ भन्ने लालच देखाएर दलाल मार्केटमा मान्छे बेच्ने धन्दा फस्टाउँदै गएको छ । मानव बेचबिखन अपराध मानिन्छ, ठूलासाना धेरै दलालहरु यही धन्दा गरिरहेछन् ।
के छ विदेशमा युवा युवतीको हालचाल ? तिनीहरु अन्यायमा त परेका छैनन् ? तिनको स्थानीय संरक्षकका रुपमा श्रमसहचारी, राजदूतहरुले सही काम गरेका छन् कि छैनन् ? सरकारले कुनै निगरानी गरिरहेको देखिदैन । सरकारको काम वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटान्सको हिसाव गर्ने, कमिशन बटुल्ने र रेमिटान्सकै भरमा आर्थिक प्रगतिको चार्ट बनाएर शासनाधिकारी बन्नुमा सिमित देखिन्छ ।
नेपाली पहिले नेपालमै ठगिन्छन् । मेनपावरदेखि श्रमसम्म, स्वास्थ्यपरीक्षणदेखि हवाई टिकटसम्म जताततै युवाहरु ठगिएका हुन्छन् । जब दलालले नेपालबाट उडाउँछ, शोषणको पराकाष्ठाको यात्रा सुरु हुन्छ । कतिपय श्रम स्वीकृति लिएर र कतिपय दलालको विश्वासमा परेर बैधअवैध तरिकाले मीठो सपना देखेर उड्छन् र अधिकांशलाई वीचबाटैमा लगेर अलपत्र पारिदिन्छन् । युवतीहरु श्रम, मानसिक यातनामात्र होइन, शारीरिक शोषणमा पनि पर्छन् । बैदेशिक रोजगारीका नाममा बन्दी जीवन बिताउने १० हजारभन्दा बढी छन् भन्ने रिपोर्ट आइरहेको छ । कतारलगायतका खाडीमा त नेपाली कामदार दासका रुपमा काम गरि रहेका छन् । कतिपय झूठा मुद्दामा जेलमा कोचिएका छन्, कतिपय कानुनी फन्दामा फसेका छन् । कतिले मृत्युदण्ड पाइसके, कति मुत्युदण्ड कुरिरहेका छन् । भीसाका म्याद सकिएकालाई मलेसियामा नाङ्गै पारेर घुूडा टेकाएर हिडाएको दृश्य सार्वजनिक भएको छ । यसअघि कतारमा नेपालीलाई दासको व्यवहार गरिएको रिपोर्ट एम्नेष्टीले नै प्रकाशमा ल्यायो । दुबईदेखि नाइजेरियासम्म नेपाली युवतीहरुलाई डान्सबारमा नाङ्गै नचाउने गरिन्छ, अहिले विश्व बजारमा नेपाली यौनबजार गर्माइरहेको छ । नेपाली युवतीहरुको पासपोर्ट कब्जा गरेर तिनलाई यौनबजारमा बिक्री गर्ने अनेक घटना भइरहेका छन् । घरेलु कामदार पनि अधिकांश यौन शोषणमा परिरहेकै छन् । युरोप, अमेरिकाको सपना देखाएर अफ्रिकी मुलुकमा पुर्याउने मानव तस्कर जालोले नेपालको राजनीतिक र शासकहरुसम्म दह्रो पकड बनाएको छ । सजिलो छैन, वैदेशिक रोजगार ? तर, गरिखान दिइएन भनेर प्रत्येकजसो घरका कोही न कोही विदेश पलायन भइरहेकै छन् । विदेश नजानु नालायक हुनुजस्तो भइसक्यो समाजमा । हुतिहारा हुनुभन्दा विदेश जानु बेश भन्ने मानसिकता विकास भइसक्यो । स्वदेशमा गरिखाउँ, केही गरौं भनेर प्रेरित गर्न, अवसर दिन राजनीति असक्षम भयो ।
सरकार कहाँ छ ? राजनीतिक दलहरु किन मौन छन् ? नागरिक समाज, अधिकारकर्मी, विज्ञ विशेषज्ञहरु, संचेतन बर्गहरु, के तिनले यो आरोप स्वीकार गरेका हुन् ? हुन् भने तिनीहरु राष्ट्रघाती हुन् । अस्वीकार गरेका हुन् भने मान्छे बेच्ने सस्तो बजार बनिसक्यो देश, यति गम्भीर विषयमा जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउनु पर्छ कि पर्दैन ?
नयाँ खबर आएको छ, काठमाडौंबाट दिल्ली, थाइलेण्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराइदिने लोभमा दलालले मोटो रकम लिएर युवायुवतीलाई पठाइरहेका छन् । यसबाहेक केन्या, तान्जानिया, नाइजेरियामा झण्डै २ सय नेपाली युवतीहरु जेल परेका छन् ।
आश्चर्यपूर्ण तरुना तरुनी बेच्ने धन्दा रोक्न कोही तैयार छैन । चीन, कोरिया, अमेरिकालगायतका नागरिकहरु नेपाल आइरहेका छन् । उनीहरु तरुनीसँग विवाह गरेर लाने अनि उतै छाडिदिने धन्दा चलाइरहेका छन् । यसमा अनेक म्यारिज ब्यूरोहरुले दलालको भूमिका निभाइरहेका छन् । पहिले
लागूऔषधको तस्करी हुन्थ्यो, अव माफियाहरु युवतीलाई विवाह गराएर लैजाने तस्करीमा पल्केका छन् । विदेश जान हुरुक्कै हुने मानसिकता यति भयावह बनिसकेको छ कि विश्व वैंकले २० वर्षपछि नेपाल बुढाबुढीको देशमात्र हुनेछ भन्ने भविष्यवाणी गरिसक्यो । तैपनि नयाँ नेपाल बनाउने राजनीतिक शासक बर्ग सत्ता र शक्तिकै खेलमा मस्त छन् ।
राजनीतिक संरक्षण पाएकै कारण मान्छे विक्री गर्ने तस्करको सेटिङमा सरकारी सञ्जालै फस्न पुगेको छ । मान्छे बेच्ने धन्दा फस्टाउनु भनेको नेपालमा कानुनव्यवस्था बिक्री भइसक्यो, राज्यसञ्जाल भ्रष्टाचारमा लिप्त छ भन्ने प्रमाण हो । पक्राउ परिहाले राजनीतिक बर्गले बचाइदिने र बिचौलियामा सोझालाई फसाएर उम्किन सकिने भएकाले पनि वैदेशिक रोजगारीका नाममा नेपाल मान्छे बिक्री गर्ने देश बनेको हो । मान्छे तस्करी गर्ने ? मान्छे बेच्ने ? बजारबाट नेपालले कसरी उन्मुक्ति पाउने ? यस सम्बन्धमा कोही त बोल ? केही त गर ? अन्यथा सगरमाथा र बुद्धको देशमा लोकतन्त्र त आयो, लोक खरिदबिक्री हुने बजार बन्नपुग्यो भन्ने गलत सन्देशले नेपालको मटियामेट हुनसक्छ ।