Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुन काण्डपछि सेना सतर्क

२६ सोमबार , भाद्र २०७४७ बर्ष अगाडि

काठमाडौं । ८८ किलो सुन केरुङ नाकाबाटै आएको र १२ वटा चेकप्वाइन्ट पार गरेर राजधानी भित्रिएको खबरपछि नेपाली सेना हर्कतमा आएको छ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको निगरानी गर्दै आएको कालिजंग गुल्मले निजी सामान्य रुपमा हेर्दै आएको थियो र सबै चेकजाँच प्रहरीले गर्ने गरेको थियो । सुनकाण्डपछि सेनाले निजी, सरकारी कुनै पनि गाडीको विशेष जाँच गर्ने प्रकृया सुरु गरेको छ । सेनाको यस जाँच प्रकृया सुरु भएपछि प्रशासनसँग मिलोमतो गरेर सुन तस्करी गर्नेहरु सतर्क भएका छन् ।
सूचना पाएर रसुवा नाका पुगेको प्रहरीले सुन राजधानी आएपछि थाहा पाउनु र मालिक भगाएर ड्राइभर र गाडी पक्राउ गरी सुन समात्नु, समातिएको सुनको कमिशनमा अनेकन तिकडम लगाउनु पनि रहस्यमय देखिएको छ ।
यद्यपि प्रहरीले काठमाडोंमा होटल व्यवसाय गरेर बसेका चाइनिज व्यापारी याङबेन र पान बिईलाई सुन तस्करीका मालिक भनेको छ । चिनियाँ व्यापारी र लगानीकर्तालाई हतोत्साही पार्ने उद्देश्य हो कि भन्ने शंका गर्दै चीनले केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाका भनेको केही दिनमै यो सुन काण्ड भएकाले पनि अनेकन आशंका उठेका छन् ।
र, चीनका प्रधानमन्त्रीले नेपालमा रेल सम्पर्क गराइछाड्ने भनेको केही दिनमै यो सुन काण्ड मच्चिएको हो र यस काण्डमा परराष्ट्र र गुहमन्त्री महरा र जनार्दन शर्मालाई समेत मुछेर समाचार आएका छन् । प्रहरीले स्पष्ट रुपमा सुन तस्करीको इतिबृतान्त भन्ने सकेको छैन ।
यो सुन तस्करीले नेपाल चीन सम्बन्धलाई गाँसेर भारत र भारतका निकटहरुले समाचार छापिरहेका छन् । हुनसक्छ, नेपाल चीन सम्बन्ध बिगार्ने योजना होस् । उता भुटानको दोक्लाम तनावमा चीनका सामु गोर्खा सैनिक खडा गर्नु र पछि भारतीय सेना फिर्ता हुनुमा पनि नेपाल चीन सम्बन्ध अगाडि ल्याउने काम भएको थियो । बुझ्न सकिन्छ, भारत नेपाल चीन सम्बन्ध चिस्याउन चाहन्छ । नेपालले एक चीन नीति दोहोर्‍याएको छ, वान बेल्ट वान रोड ओविओआरमा सही गरेको छ जबकि भारत र भुटान यसमा सहमत भएका छैनन् ।
यो सुन काण्डलाई छोरी कुटेर बुहारी तर्साउने रणनीतिका रुपमा पनि चर्चा गरिदैछ ।
यद्यपि जति पनि सुन तस्करी हुन्छ, त्यो सुन भारतीय बजारमै जाने भएकाले पनि सुन तस्करीमा भारतीय कालोधन लगान्ी भइरहेको छ । यो ८८ किलो सुन कलकत्ता पठाउने योजना भएको खुलासा भइसकेको छ र ४४ करोडको सुनलाई २० करोड बैना दिइसकेको रहेछ । एयरपोर्ट, पहिले तातोपानी र अहिले केरुङ नाकाको प्रयोगपछि नेपाल प्रहरी, भन्सार र राजस्वका कर्मचारीसमेत सुन तस्करसँग मिलोमतो गरिरहेको थप खुलासा भएको छ ।
यी होटल व्यवसायी चिनियाँलाई चीनको जासुस समेत भनिएको छ । चीनबाट यतिधेरै पर्यटक आउन थालेका छन् कि कसकसलाई चिनियाँ जासुस भन्ने । त्यसमाथि नेपालमा चीनको ठूलो लगानी भित्रिरहेको छ, जसले गर्दा भारत आत्तिनु स्वभाविक पनि छ । चिनियाँलाई आरोप लगाउनुसाटो नेपाली सुरक्षा र प्रशासन चुसत हुनुपर्ने आवश्यकता नेपालले कहिले देख्ने र चुस्त बन्ने ? सवाल नेपालको सुरक्षा र इमानदार प्रशासनको छ । हामी विदेशी लगानी आह्वान गरिरहेका छौं भने लगानीलाई सुरक्षा दिने र अवैध कारोवारलाई कडाइका साथ निरुत्साहित पार्नुपर्छ । जब हाम्रा कर्मचारी र सुरक्षाकर्मी नै मिलोमतो गर्छन् भने यसबाट राष्ट्रको शासन प्रशासन कमजोर हुन्छ नै ।
फेरि पनि प्रश्न उठ्छ– सुराक पाएको थियो भने प्रहरीले रसुवा नाकामै किन गाडी र गाडी मालिकलाई कर्‍यापझ्याप पार्न सकेन ? राजधानीमा समातिदा किन मालिक भगाइयो ? नेपाल प्रहरीले यी प्रश्नको उत्तर दिने कि नदिने ? के भन्छ– किन चुप छ– गृहमन्त्रालय ?