काठमाडौं । सुशीलको देहान्तपछि कांग्रेसी नेता सशांक, शेखर र सुजाता अलग अलग धारमा थिए । यसको लाभ शेरबहादुर देउवाले उठाए र उनी सभापति चुनिन सफल भए । कोइराला परिवारबाट कोही पनि उमेदवारी दिनसक्ने हैसियतमा नभएकाले पनि देउवालाई सभापतिमा चुनौति आएन ।
र, खुमबहादुर खड्काजस्ता पार्टीभित्र प्रभाव भएका नेताहरुलाई देउवाले उपसभापति र अन्य पदहरुमा मनोनित गर्छु भनेर मनाउन सफल भएका कारण पनि देउवाको मार्ग प्रशस्त भयो । जसका कारणले देउवा कांग्रेसको सभापतिमात्र बनेनन्, नेपालको प्रधानमन्त्री बन्नका लागि समेत अवसर जुटाउन सफल भए । उनी प्रधानमन्त्री चलाइरहेका छन् ।
तर, देउवाका सान्निध्य र सम्पर्कमा आएका र देउवालाई विश्वास गरेर सघाउने सहयोगीहरु चित्त दुखाएर बसेका छन् । हो, स्थानीय चुनावका बेलादेखि खुमबहादुरलाई पार्टीको व्यवस्थापनमा जिम्मा दिएर मनाउने प्रयत्न त गरे तर उनले अहिले पनि उपसभापति पाएका छैनन् । नजाँनिदो तरिकाले भ्रष्टाचारमा डामिएकाले चुनाव लड्न नपाउने भन्ने कानुन पास गराउने देउवा र उनका सहयोगीहरु नै हुन् । जुन जोल्ट सच्याउन यतिबेला भ्रष्टाचार लागेकाले पनि चुनाव लड्न पाउनुपर्छ भन्ने कानुन निर्माण गर्न र पार्टीभित्र आफ्नो प्रभाव कायम राख्न देउवा लडिरहेका छन् ।
तर, वीपीवादी र कांग्रेसलाई अतिवादीबाट अलग राख्नुपर्छ भन्नेहरुको मतो मिल्दै गएको छ र यति नै बेला कांग्रेसी राजनीतिमा रहेका तीन कोइराला सशांक, शेखर र सुजाता एकापसमा मिलेका छन्, छलफल गरिरहेका छन् र कांग्रेसमा फेरि कोइरालाको नेतृत्व स्थापित गराउने प्रयत्नमा जुटेका छन् । उनीहरु सफल होलान् नहोलान् आफ्नो ठाउँमा छ, यो खबरले देउवा पक्षलाई कमजोर पारेको छ र देउवा आफै पनि आत्तिन पुगेका छन् ।
यतिमात्र होइन, भारत भ्रमणमा जाँदा कार्यवाहक सभापति विमलेन्द्र निधिलाई जिम्मा दिएर गएपछि सिनियर कूलबहादुर, रामचन्द्रहरु भड्किएका छन् र उनीहरु पनि कोइराला क्याम्पमै र्याम्प गर्ने बाध्यतामा पुगेका छन् । यस्ता वाध्यतामा पर्नेहरु अरु धेरै छन् ।
देउवाले पार्टी र सरकार दुबै सक्षमतापूर्वक चलाउन नसकेको आरोप लागिरहेको छ र देउवाको भारत भ्रमणले कांग्रेसको इज्जतलाई धक्का दिएको आरोप पनि लगाइएको छ । विश्लेषकहरु भन्छन्– आगामी अधिवेशनसम्म यो ध्रुविकरण अरु बढ्नेछ र नेपाली कांग्रेसको नेतृत्व एकपल्ट फेरि कोइराला परिवारमै फर्कने निश्चित छ । यस्तो विश्लेषण भए पनि नेतृत्व गर्न योग्य को त ? भित्रभित्रै चर्चा चलिरहेको छ ।
शेखर, सुजाता कि सशांक ? शेखर प्रभावशाली हुन् तर उनले देउवालाई टक्कर दिइहाल्छन् भनेर विश्वस्त हुन नसक्नेहरु सुजाताको सभापति हुने हाइट नपुग्ने बताइरहेका
छन् । महामन्त्री छन् सशांक कोइराला । उनी वीपीपुत्र पनि हुन् र उनको झुकाव प्रजातन्त्र, हिन्दुवाद र समाजवादतिर बढी छ । निर्वाचित महामन्त्री भएर सशांकले पार्टीभित्रका प्रभावशाली र अन्य सदस्यहरुको मन जित्ने काम पनि गरिरहेका छन् । उनी अरु नेता भन्दा भिन्न पनि छन् र विवादमा आउन रुचाउँदैनन् । यसकारण सशांक आगामी सभापति बनेर कांग्रेसलाई कोइराला परिवारकै नेतृत्वमा पुर्याउने सम्भाबना देख्नेहरु दिनदिनै बढिरहेका छन् ।
स्रोत भन्छ : सुजाताले सशांककै नाम लिएकी छिन् र शेखरले पनि विरोध जनाएका छैनन् । यी तिनैजना तीनपल्ट सँगै बसेर छलफलमा जुटेका पनि छन् । यो क्रमले निरन्तरता पायो भने कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्कन सक्छ भनिदैछ ।