काठमाडौं । आधा घण्टाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान गोप्य वार्तासहितको जम्माजम्मी ४ घण्टाको उच्चस्तरीय भेटघाट कार्यक्रमका लागि ४ दिन खर्चिने हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेलामा केही सम्झौताहरुमा हस्ताक्षर पनि हुने भएको छ । कुनै पनि सम्झौतामा सम्बन्ध मजबुत पार्ने नाममा राष्ट्रघातका विषयवस्तु नसमेटियोस् भनेर आमचासो बढेर गएको छ ।
प्रम देउवा भोलि भारत भ्रमणका लागि जानेछन् र आइतवारमात्र फर्कनेछन् । नेपालमा आपतविपत परेको र राजनीतिक रुपमा ठूलै गाँठो फुकाउनु पर्ने बेलामा प्रधानमन्त्री नै देशबाहिर गएपछि के हालत होला ? हुन त पशुपतिनाथले चलाएको यो देशमा सत्ताधारीहरु भनेका देखाउने दाँत न हुन् ।
यद्यपि प्रधानमन्त्री देउवाले नरेन्द्र मोदीजस्ता घाघडान नेताको छायाँमा परेर एकलव्य हुने र उनले गुरुदक्षिणा के दिने हुन् भनेर आशंका र आपत्तिहरु उठिरहेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा महाकाली सन्धि संसदबाटै पारित गराएका देउवासँग जनताले के लाभ भयो भनेर सोध्न र खरी घस्न सकेनन्, त्यसैले यो भ्रमणमा पनि गुरुभेटी दिनेहुन् कि ?
एकातिर जनताले गणतन्त्रको अनुभूति गर्न पाइरहेका छैनन्, अर्कोतिर मानसिक सन्त्रास पनि दिन थालेपछि सरकार, संसद र प्रशासकका गतिविधिहरु सन्देहमा पर्न थालेका छन् । एकातिर शान्ति प्रक्रिया नै रोकिएको छ, अर्कोतिर आलोपालो सरकार मात्र भारततिर फर्केर क्रियाकलाप गर्न थाल्नाले देशको सार्वभौमिकता साँघुरिदै जाँदो छ । त्यसमाथि संवैधानिक बिबाद र मधेसका समस्या, चुनाव र संविधान कार्यान्वयनको चुनौति थपिएका छन् ।
म प्रधानमन्त्री भएपछि ब्रेक थ्रु हुन्छ जस्तो गरेका शेरबहादुर देउवाले पनि जनविश्वासलाई बढोत्तरी गर्न सकेनन् । उनले मात्र मन्त्री थपेका छन्, मन्त्रिमण्डल जम्बो बनाइरहेका छन् ।
अहिलेको आन्तरिक असहज परिस्थिति र भारत तथा चीनवीचको सीमा बिबादको तनावका बेलामा प्रधानमन्त्री भारत भ्रमणमा निस्कन लाग्नुले देउवा औंला काटिएका निरीह एकलव्य बन्ने हुन् कि भनिदैछ किनभने शेर गएर शेरकै रुपमा फर्कने विश्वास राजनीतिक फाँटमा पनि कसैले गरेको सुनिदैन ।
चुनाव सकेर, फुर्सदमा राजनीतिक र आम जनताको विश्वासको बलमा भारत गएको भए राम्रो हुनेथियो तर सत्ताको राजनीतिक दाउपेचका सामु राष्ट्रिय स्वार्थ कमजोर भएकाले उनले अहिले नै भारत जाने निर्णय गरेका हुन् र भारतले पनि उनको स्वागत गर्ने जनाउ दिएको हो । चीन रभारतको तनावमा नेपाललाई भारततिर फर्काउने मनसाय भारतको देखिएको छ । चीनका उपप्रम वाङले नेपाल तटस्थ बसोस् भनेर त गए तर नेपालले त्यो सुझाव नमान्ने संकेतका रुपमा यो भ्रमण देखिएको छ । यद्यपि माओवादीका नेता तथा परराष्ट्र मन्त्री महराले तटस्थ बस्ने बताएका छन् ।
मधेसलाई खुशी पार्न जुन प्रकरले संविधान संशोधनका प्रक्रिया अघि बढाइयो, यसबाट राजनीतिक द्वन्द्व घटेको छैन । हिन्दी भाषा र अंगीकृत नै ठूलो मुद्दा बनेका छन् । यस विषयमा माओवादी, कांग्रेसको धारणाविरुद्ध तीब्र द्वन्द्व जारीछ । सत्ताधारीले भारतको समर्थनका साथ एमालेसहितका इतरलाई खुइल्याउने रणनीति लिए पनि अन्ततोगत्वा राष्ट्रिय शक्ति खुइलिने र नेपाललाई नै नोक्सान हुने निश्चित छ ।
यस्तो परिस्थितिमा प्रजातन्त्रको बिडा उठाएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञ र आमनागरिकको आवाज संवोधन गरेर देशका पक्षमा उभिए सबैभन्दा उत्तम हुनेथियो । कांग्रेसकै पक्षमा समेत एउटा दह्रिलो आधार बन्नेथियो । देउवा एकलव्य नबनिदिए हुन्थ्यो भन्ने विश्लेषकहरु पनि प्रशस्तै छन् ।