काठमाडौं । बारा, पर्सा, रौतहट हुँदै सिंगो मधेस बाढीको आतंकबाट सम्हालिन नसक्दै चुल्ठो काटिने आतंकबाट आतंकित हुनपुगेका छन् ।
केही हप्तादेखि भारतमा अज्ञात ग्याङले महिलालाई झट्का दिने, बेहोस पार्ने र होस खुल्दा आफ्नो चुल्ठो काटिएको अवस्थामा पाउने गरेका थिए, हो र ? भनेर सुन्दासुन्दै त्यो आतंक भारतबाट तराईमा प्रवेश गरेको छ ।
समाचारअनुसार भारतको राजस्थान, विहार, उत्तरप्रदेशमा यस्ता घटना भएको खबर भारतका हिन्दुस्थान टाइम्सदेखि अन्य पत्रिकाले लेख्दै आएका थिए । त्यो आतंकी समाचार अव नेपालको पनि समाचार बनेको छ, यो आतंकबारे सरकार बोलेको छैन ।
सुरक्षास्रोत भन्छ– गृह मन्त्रालयमा तराईमा यस्ता घटना घटेको रिपोर्ट आएको छ, सुरक्षा निकाय यसबारेमा गम्भीरतापूर्वक ध्यान दिइरहेको छ । तर, बारा, पर्सामा १४ देखि ३५ वर्षसम्मका युवती महिलाहरुको कपालको चुल्ठो काटिने आतंक फैलिदै गएको छ ।
हरेक यस्ता घटनाहरुलाई हामी अन्धविश्वासका रुपमा परिभाषित गर्दै आएका छौं । अन्धविश्वास हटाउनु पर्नेमा सबै एकमत पनि भएका छौं तर अज्ञात त्यो शक्ति व्यक्ति अथवा कुनै अपराधिक ग्याङ हो कि वास्तवमै अज्ञात कुनै शक्ति छ ? जसले युवती महिलाहरुको कपालको चुल्ठो काट्ने आतंक फैलाईरहेको छ, यस बारेमा तत्काल सरकारले आमनागरिकलाई सुसूचित गर्न र सुरक्षाको अनुभूति दिन जरुरी छ ।
बारा र पर्सामा मात्र २० युवती महिलाको चुल्ठो काटिने अपराध भइसकेको छ । साउनको अन्तिम हप्तादेखि हरेक दिन कुनै न कुनै महिलाको चुल्ठो काटिने निरन्तरता चलिरहदा पनि नेपाल सरकार हाँसेर र हेरेर बस्न मिल्छ कि मिल्दैन ?
चुल्ठो काटिनेहरुले स्थानीय प्रशासन, सुरक्षा निकायमा उजुरी पनि हालेका छन् । तर यसबारेमा सरकार नै अन्यौलमा परेको देखिन्छ ।
पर्साका एसपी सुदीप गिरीका अनुसार हामी पनि अचम्मित परेका छौं, हेर्दैछौं यसबारेमा छानबिन हुँदैछ ।
पहिले भारतमा र अहिले नेपालकै बारा र पर्सामा घटेका चुल्ठो काटिने आतंक तराईका अन्य भाग र राजधानीमै पनि छिर्न सक्छ ? यसकारण यसबारेमा सरकारले तत्कालै छानबिन गरेर जनतामा बढ्दो त्रासदीलाई भरोसा दिन जरुरी छ ।
प्रहरी स्रोतका अनुसार चुल्ठो काटिएका केही युवती महिलाहरुसँग सोधपुछ गरिदा टाउको पछाडिबाट कसैले हिर्काएजस्तो हुन्छ, त्यसपछि बेहास भएर लडिन्छ । पछि होस खुल्दा आफ्नो चुल्ठो काटेर फालिएको अवस्थामा भेटिन्छ भनेका छन् । प्रहरीले कुनै त्रासदी फैलाउने समूहले यसप्रकारको आपराधिक कार्य गरेको पनि हुनसक्छ, यकिन भएको छैन ।
भारत सरकारले के हो यो भनेर अनुसन्धान गरिरहेको छ र अहिलेसम्म यसै हो भनेर पत्ता लगाउन सकेको छैन भने नेपाल त त्यसै पनि तन्त्रमन्त्रको प्रभावमा रहेको मुलुक हो । त्यसमाथि तन्त्रमन्त्रको प्रभाव महिलाहरुमा ज्यादै धेरै रहेको अवस्था पनि छ । त्यसैले महिलालाई टार्गेट गरेर चुल्ठो काट्ने आतंक फैलाउने आतंकी घटना पनि हुनसक्छ । जुन कामा अन्य देशका प्रहरीले गर्न सकेनन्, त्यस्तो काम नेपालका प्रहरीले गरेका अनेक घटना छन् । यो महिलाको चुल्ठो काट्ने घटनाको यकिन विवरण नेपाल प्रहरीले सार्वजनिक गर्न सक्यो भने भारतका लागि समेत यो उदाहरणीय दृष्टान्त हुनसक्छ । आतंक महामारी नबन्दै सुरक्षा निकाय सजग र सतर्क हुनु जरुरी देखिएको छ ।