काठमाडौं । सरकारसमक्ष राखेका ५ बुँदे माग पूरा नभए राष्ट्रसंघ र विभिन्न देशका दूतावासका ढोकामा धर्ना दिने धमास दिएको छ राष्ट्रिय क्रिश्चियन महासंघले ।
अध्यक्ष सीवी गहतराजले पत्रकार सम्मेलन गरेरै यस्तो घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम केही दिनमा घोषणा गर्ने उनले बताए । उनले ठाडै सरकारमाथि आरोप लगाए– क्रिश्चियनमाथि अन्याय भयो । उनको माग छ– धर्म प्रचारसँग सम्बन्धित संघ संस्थाको नविकरण रोक्ने स्थानीय विकास मन्त्रालयको निर्णय खारेज हुनुपर्छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–
वैशाख ३ गते कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोली प्रहार र अजम्सन चर्चमा भएको आगजनीको छानविन होस् । सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयका लागि उच्च स्तरीय समिति बनोस्, बाँसबारी टुपेक चर्चमा भएको घटनाको छानविन होस् । ख्रीष्टमस डे ख्रीष्टमस इभ, अप्रिलमा मनाइने गुड फ्राइडे र इष्टर सण्डेसहित ४ पर्वलाई राष्ट्रिय मान्यता दिइयोस् ।
अध्यक्ष गहतराजले देश निर्माणमा क्रिश्चियनहरुको ठूलो योगदान दावी गर्दै सरकारले क्रिश्चियनहरुको अपमान बन्द गर्नुपर्ने बताएका छन् । गहतराले सरकारमाथि नैतिक हुनसमेत दबाब दिएका छन् । स्रोतका अनुसार विभिन्न पश्चिमा मुलुकका दूतावासहरुको समेत सम्पर्कमा क्रिश्चियन महासंघले नेपालाई अन्तर्राष्ट्रिय जगतमा तान्ने र बदनाम गर्ने प्रयत्न गर्न थालेको छ ।