काठमाडौं । हिन्दीमा उखान छ– तेल देखो, तेलकी धार देखो । त्यही उखानझैं प्रचण्डको आह्वानको विश्लेषण हुन थालेको छ । पेरिसडाँडाबाट नेकपा माओवादीका अध्यक्ष प्रचण्ड कटवाल बनेका छन् र उनले बिप्लव, वैद्य र बाबुरामलाई एकीकृत हुन आह्वान गरेका छन् । यो आह्वान प्रचण्डको पीडा हो कि बाबुराम, विप्लव र बैद्यका लागि खुशी ? यस बारेमा छिटै स्पष्ट होला । तर स्थानीय निर्वाचनको २ चरणमा पाहा पछारिएझैं पछारिएका प्रचण्डले अव यस्तो एकीकरण हुन नसके सबैभन्दा कमजोर हुनसक्ने खतराबाट मुक्तिका लागि गरेकोमा दुईमत छैन । पार्टी एकता गर्न प्रचण्डजस्ता फलामे नेताले यसरी नरम भएको देखिएको छ ।
माओवादी केन्द्रको सचिवालय विस्तारित बैठकले निस्किय पारिएको वाईसीएललाई सक्रिय पार्ने निर्णय पनि गरेको छ । यति नै बेला तेश्रो चरणको २ नम्बर क्षेत्रको निर्वाचन अघि नै मातृका प्रसाद यादवलाई प्रचण्डले थप सक्रिय पार्दै मधेस एसेम्बली गठन गर्न लगाएका छन् । यो एसेम्बलीमा भातृ संगठनमा राजपाका महेन्द्र राय यादव, संघीय समाजवादीका रिजवान अन्सारी, सद्भावना गजेन्द्रवादीका विकास तिवारी, नयाँ शक्तिका डा.रामकेवल साह रहेका छन् । प्रचण्ड एकपटक पुन: सबै माओवादी र पुराना सहयोगीहरुलाई एकीकृत गरेर राजनीतिक शक्ति आर्जन गरेर कांग्रेस, एमालेलाई आफ्नो असली रुप देखाउने प्रयत्न गरिरहेको बुझ्न गाह्रो छैन ।
पेरिसडाँडाबाट प्रशारित अपिलको जवाफ अहिलेसम्म विप्लव, बैद्य, बाबुरामले समेत दिएका छैनन् । यद्यपि प्रचण्डले विभाजनको असर निर्वाचन परिणामले उजागर गरेको आत्मस्वीकार भने गरेका छन् ।
जनस्तरमा साह्रै आलोचित भएको वाईसीएललाई सक्रिय पार्न खोजेको प्रति आमजनमानसमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्र मूलधार हो भन्नु स्वभाविक हो, मूलधारलाई धारिलो पार्न वाईसीएल अथवा बिखण्डनवादीको साथ लिएर अघि बढ्नु माओवादीका लागि सुहाउने विषय हो कि होइन ?
यसबारेमा अनेक टिप्पणीहरु सार्वजनिक हुनथालेका छन् । हो, निर्वाचनमा बाबुराम र बैद्य पनि असफल भएकै हुन्, जनताले नपत्याएकै हो । तर विप्लव संविधान र निर्वाचन परिणाम खारेजीको माग गरिरहेका छन् । राजपाले दोश्रो चरणमा सहभागी भए पनि पहिलोचरणमा सहभागी भएन । उनीहरुले प्रचण्डसँग भएका गुनासोहरु बिर्सेर एकीकृत हुन, प्रचण्डलाई नै नेतृत्व मान्न तैयार होलान् ? गम्भीर प्रश्न हो ।
कम्युनिष्ट केन्द्र बनाएर आफै नेतृत्व लिन कस्सिएका प्रचण्डको अभियान सफल होला, नहोला, भविष्यमा थाहा हुने विषय हो, तर यतिखेर कम्युनिष्टहरु चिरा परेकैले कमजोर भएका छन् ।