काठमाडौं । देश बचाउनका लागि राष्ट्रवादी मोर्चाको नेतृत्व पूर्वराजाले सम्हाल्नुपर्छ । अहिले नहुनुपर्नेजति जे भइरहेको छ, यो देख्दा राजसंस्थाको अभाव खड्किएको छ । यो अभिव्यक्ति मालेका महासचिव सीपी मैनालीको हो । राजतन्त्रविरोधी र कम्युनिष्ट सीपी मैनालीले यस्तो भन्नुपर्ने दिन आएछ भने देश कहा“ पुगिसकेछ ।
सीपीले भनेका छन्– पृथ्वीनारायण शाहको पालादेखि नेपाललाई पश्चिमा साम्राज्यवादी युरोपेली – अमेरिकी गठबन्धन र भारतीय विस्तारवादले साह्रै खेदो खन्दै आएको हो तर यी शक्तिलाई पृथ्वीनारायण शाह हुदै राजा महेन्द्र र राजा वीरेन्द्रले धेरै खेल्ने मौका दिएनन् र देशलाई स्थिर राख्न ठुलो योगदान दिएका हुन् । पछिल्लो कालखण्डमा यी बिदेशी शक्तिहरुका सामु हाम्रा शिर्ष राजनैतिक नेतृत्व नतमस्तक रहेको देखिन्छ ।
हामीले तत्कालिन राजतन्त्रले देशको स्वाभिमानलाई जोगाएको सत्यलाई स्वीकार गर्नैपर्छ । अहिलेको लथालिङ्ग भएको यो अवस्थामा राजतन्त्र अभाव खड्कियो ।
सीपी मैनालीले पूर्वराजा ज्ञानेन्द्रले समय समयमा दिएका अभिव्यक्तिहरु स्वभाविक भएको पनि बताएका छन् । पूर्वराजाले बिखण्डन नहोस्, देशको सार्वभौमिकता बचाओं भनेर गरेको जन्मदिनको आह्वानलाई समय सान्दर्भिक ठहर पनि गरेका छन् । सीपी मैनालीले पत्रिका, टिभीमार्फत खुलेर भनेका छन्– पूर्वराजाले अव राष्ट्रिवादी मोर्चाको नेतृत्व गर्नुपर्छ । यद्यपि अन्य राजनीतिक दलहरुका नेताहरुले पनि यो संस्थाको आवश्यकता अनुभव नगरेका होइनन् तर बोल्ने कसले ?