काठमाडौं । हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको बैधानिक एजेन्डा बोकेको राप्रपाले पहिलो स्थानीय निर्वाचनमा नराम्रो हार बेहोरेको थियो । दोश्रो निर्वाचनमा झापा र बाँकेमा गरेको प्रदर्शनले राप्रपाका लागि मृतसञ्जीवनी बुटी साबित भएको छ । अध्यक्ष कमल थापाको आलोचकहरुका लागि केही जवाफ दिने बाटो बनेको छ ।
यसरी राप्रपाले हार्नुपर्ने हो त ? दोश्रो संविधानसभाको निर्वाचनमा चौथो शक्ति बनेको राप्रपाको कहाँनेर कडी खुस्कियो र चुनावमा मतदाताले पत्याएनन् ? यतिबेला सर्बत्त राप्रपाको बारेमा चर्चा सुनिन थालेको छ ।
जहाँ जहाँ क्रिस्चियन बहुल समाज छ, बुद्धिष्ट र जहाँ जहाँ मुस्लिम बहुलताको बसोबास छ, ती क्षेत्रहरुमा राप्रपाले दोश्रो चरणको निर्वाचनमा राम्रो मत पाएको देखिएको छ । यसैको प्रतिफल उपमहानगर जित्ने स्थितिमा पुगेको छ । देशव्यापी फैलिएका र ९५ प्रतिशत ॐकार परिवार भन्नेहरुले राप्रपालाई यसपटक मत दिएनन् । किन ? यस सम्बन्धमा पूर्वराजासँग अध्यक्ष थापा रिसाएको, हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रप्रति इमान्दार नभएको प्रसङ्ग जोडेर चर्चा गरिदैछ । यद्यपि महाधिवेशनले पारित गरेको बिधान नै राप्रपाको मूल सिद्धान्त हो र त्यो सिद्धान्त राप्रपाले छाडेको छैन । फेरि अध्यक्ष कमल थापाप्रति किन प्रश्न उठ्यो ?
पार्टी त्याग गरेका डा.प्रकाशचन्द लोहनी, केशर विष्ट र पुरानो शक्ति भनिने वालकृष्ण न्यौपानेहरुले र विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रियको नेतृत्वले सिद्धान्त विपरित कांग्रेस, एमाले र माओवादीलाई मतदान गरिदिएकाले राप्रपाको स्थिति यसरी नाजुक हुनपुगेको हो ।
यसबाहेक पशुपति शमशेर जबरा र सूर्यबहादुर समूहले समेत अध्यक्ष कमल थापालाई एक्लो पारेर नेतृत्वमा असफल पार्न लागिपरेकाले पनि राप्रपाको चुनावी बेहाल स्थिति देखिएको हो । पार्टी चलाउने भनेको टिम वर्क हो, अध्यक्ष कमल थापालाई एक्लो छाडिदिएपछि कसरी पार्टी बलियो देखिन्छ र ?
पहिलो चरणमा धादिङको रुवीभ्याली गाउँमा बुद्धिष्ट र क्रिश्चियनले अध्यक्ष उपाध्यक्ष जितेका थिए, दोश्रो चरणमा नेपालगञ्ज उपमहानगरबाट धवलशमशेर जितको निकट पुगेका छन् । यो एउटा नतिजा राप्रपाले हानेको बाउण्ड्री भन्दा फरक पर्दैन ।
तर यथार्थ यही हो कि राप्रपाले राप्रपालाई हराइरहेको छ । तेश्रो चरणमा त राप्रपाको झन नराम्रो उपस्थिति देखिने छ । किनभने २ नम्बर क्षेत्र सिंगै मधेस हो र यो क्षेत्रमा राजपा, माओवादी, कांग्रेस र एमालेभन्दा अरुले चियाउनै पर्नेछैन । दोश्रो चरणमै हो राप्रपाले अस्तित्व बचाउने । यही निर्वाचनमा राप्रपाभित्र चर्को गुटबाजी देखियो । एकदोस्राप्रति गालीगलौज भेटियो । जिम्मेवारीबाट पन्छिने प्रवृत्ति उजागर भयो । जसका कारणले राप्रपालाई व्यक्तिगत रिसराग र द्वेषका कारण राप्रपालाई नराम्ररी धुलो चटाइयो । यसमा प्रतिद्वन्द्वी पार्टीको भन्दा बढी साजिस राप्रपा हुँ भन्नेहरुले नै गरे ।