काठमाडौं । जेष्ठ नागरिकहरु यसरी सडकमै सुतेर मौन विरोध गरेका छन् । यिनको एउटै माग छ, जेष्ठ नागरिक भत्ता बढाइयोस् । यसपटकको बजेटमा पनि सामाजिक सुरक्षाभत्ता नढाइएपछि जेष्ठ नागरिकहरु सडकमै सुतेर बिरोध गरेका हुन् ।
अग्रज समाज नेपालको अगुवाईमा जेष्ठ नागरिकहरुले जेठ २१ गते मीनभवनको सडकमा सुतेका थिए । लामो समयदेखि जेष्ठ नागरिकको विरोध जारी छ, स्थानीय निर्वाचनमा विभिन्न दलहरुले जेष्ठ नागरिक भत्ता बढाउने लालसा देखाएर भोट पनि लिए तर सरकारले भत्ता बढाएको छैन ।
जेष्ठ नागरिकको थप माग सार्वजनिक यातायातमा छुट, उपचार खर्चमा आधा छुट र कानुनबमोजिम ६० वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिनुपर्ने सर्त राखेका छन् । अहिले ७० वर्ष पुगेपछि मात्र जेष्ठ नागरिक मान्ने र भत्ता पाउने व्यवस्था छ । दिएको भत्ता दोब्बर हुनुपर्छ भन्ने पनि जेष्ठ नागरिकहरुले भनेका छन् । बुढा त सरकार चलाउनेहरु पनि बुढा भइसकेका छन् । स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल र अव हुने प्रधानमन्त्री शेरबहादुर देउवा पनि बृद्ध भइसके । यिनीहरु सम्पन्न र शक्तिशाली भएकाले यिनलाई बृद्ध भएको अनुभूति र सहाराको आवश्यकता नदेखिएको हुनसक्छ ।
बृद्धबृद्धाहरुले यसरी सडकमा सुतेर बुढेसकालका लागि सहारा खोज्नुपर्ने, तैपनि लोकतान्त्रिक नेता, पार्टी र सरकारले बेवास्ता गरिरहने ? कस्तो लोकतन्त्र आएछ नेपालमा ?
आश्चर्य त के छ भने मासिक २ हजार पाएकोमा सबै दलका नेताहले बढाउने बताए तर बढाउन पहल कसैले गरिदिएनन् । अग्रज समाजका प्रतिनिधिका अनुसार यसपालीको बजेटमा बृद्धभत्ता बढाउन खोजिएको थियो तर निर्वाचनमा प्रभाव पार्छ भनेर आचारसंहिता देखाएर बढाउन रोक लगाइयो । जेष्ठ नागरिकलाई दिने सेवा सुविधामा पनि राजनीतिक तगारो ?