काठमाडौं । रक्षादेखि परराष्ट्र मन्त्रालयसम्म एसम्यान मन्त्री बनाएर र सत्ताको प्रमुख घटकका रुपमा राजदूतदेखि न्यायाधीशसम्म भागबण्डामा नियुक्त दिलाएर जसरी कांग्रेस सभापति शेरबहादुर देउवाले लुटिरहेका छन्, त्यसैगरी अव श्रीमती डा.आरजु देउवालाई प्रधानमन्त्री बनाएर पार्टी र सत्ता दुबै कब्जा गर्ने र इतिहास रच्ने मुडमा देउवा लागिपरेको स्रोतहरुले जानकारी दिएका छन् ।
अहिले काठमाडौं आएका भारतीय विशेष दूत श्यामशनसँग समेत देउवाले भेटेर यस विषयमा विचार विमर्श गरिसकेका छन् ।
देउवा र आरजुको भेट पानीपोखरीस्थित अमेरिकी दूतावासमा तत्कालीन राजदूत जुलिया चाङ ब्लकले गराइन् र तिनको विवाहमा समेत मुख्य लमीको भूमिका उनैले निभाइन् । पहिले देउवा पश्चिमाका मान्छे थिए, यतिबेला भारतका निकट छन् र आरजुको पश्चिमाहरुसँग बाक्लै सम्बन्ध कायमै छ । यसकारण पनि भारत र पश्चिमा मुलुकको इन्टरेष्ट मिल्ने भएकाले पनि र आरजु राणा सांसदसमेत रहेकीले उनको प्रधानमन्त्री बन्ने चान्स धेरै हदसम्म सम्भव मानिएको छ ।
नेपालमा महिलाको दिन फिरेको समय हो यो । राष्ट्रपतिमा एमाले नेतृ विद्या भण्डारी, सभामुखमा माओवादी नेतृ ओनसरी घर्ती, प्रधानन्यायाधीशमा कानुनची सुशीला कार्की, सैनिक न्यायालयमा पनि महिला, दूरसञ्चार प्राधिकरणमा पनि महिला, राजदूतमा पनि महिला नियुक्त भइरहेका छन् । अव प्रधानमन्त्री हुनमात्र महिला बाँकी छ र त्यसको प्रतिक्षा कांग्रेस नेतृ डा.आरजु देउवाले पूरा गर्ने संकेत आउन थालेका छन् । सभापति देउवाले यसबारेमा आफ्ना सहयोगीहरुवीच चर्चा सुरु गरिसकेको बताइन्छ ।
स्थानीय चुनाव दुई चरणमा हुने सरकारी निर्णयसँगै पहिलो चरणको निर्वाचनपछि आफूले राजीनामा दिने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले गरिसकेका छन् । वैशाख ३१ को निर्वाचन संघारमा आइसक्यो, कांग्रेस हाउसमा प्रधानमन्त्री र मन्त्रिमण्डलको चटारो परिसकेको देखिदैछ । सरकारमा कुन कुन दललाई समेटेर लाने, कुन कुन विभाग दिने र सरकार गठन र चुनावमा कसरी कांग्रेसलाई विजयी बनाएर पहिलो नम्बरकै पार्टी कायम राख्ने भन्ने चिन्तन पनि सुरु भइसकेको छ ।
सत्ता नपाए छटपटिने र उधुम मच्चाइरहने कांग्रेसको पुरानै प्रवृत्ति हो । सत्ताकै लागि माओवादीलाई समर्थन गरेर आलोपालोको भद्र सहमति गर्ने कांग्रेसको पालो आउन लागेको छ । मुखले पहिलो चरणको निर्वाचनपछि राजीनामा दिने कुरा गरे पनि चुनाव विथोल्न जेठ १५ मा बजेट ल्याउने र जेठ ३१ मा दोश्रो चरणको निर्वाचन गर्ने कुरा सत्ताबाट आएको छ । यो विषयलाई एमालेले ठाडै इन्कार गरेको छ र साथ दिने कि नदिने भन्नेमा संविधान संशोधनको प्रष्ट खाका मागेको छ । प्रधानमन्त्रीले फास्ट ट्य्राकबाट संविधान संशोधन गर्ने प्रस्ताव गरेर खाका तैयार गर्दैछन्, मधेसी मोर्चा पनि संशोधनपछिमात्र आन्दोलन रोकिने, चुनावमा सहभागी हुने नहुने निश्चित गर्छौं भनिरहेका छन् ।
यद्यपि नेपाली कांग्रेसभित्र उमेदवार चयनमा देउवाकरण भएको भनेर आरोप प्रत्यारोप चलिरहेको छ । त्यसका साथै सभापतिलाई व्यक्तिवादी बनेर पार्टी चलाएको आरोप पनि लागेको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र देउवा गरी ३ गुटमा विभाजित नेपाली कांग्रेसभित्र हिन्दु र संवैधानिक राजतन्त्रवादीको पनि शक्ति छ । यी तमाम शक्तिलाई सन्तुलनमा ल्याएर सभापति देउवाले सत्ताको लगाम श्रीमती आरजु देउवालाई दिन सके भने उनी काविल राजनीतिज्ञमा गनिन सक्छन् । तर यो कामा फलामको च्यूरा चपाएभन्दा साह्रो भएको कांग्रेसीहरु नै बताउँछन् ।
जेहोस्, चर्चा छ र ४०औं प्रधानमन्त्रीका रुपमा डा.आरजु देउवाले मौका पाइन् भने त्यो नेपालको इतिहासमा अर्को रमाइलो कालखण्ड हुनेछ । किनभने देशका लागि सोच्ने र राजनेताका रुपमा स्थापित हुन इच्छाशक्ति राख्ने कति जना आए र ?