काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको सन्देशमा राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून भएकाले राष्ट्रिय एकतामा खतरा देखिएको विश्लेषण गरेका छन् ।
२०६३ को जनआन्दोलनका बेलामा राजनीतिक दलका वीचमा भएको सहमति किन तोडियो ? प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मप्रतिकूल व्यवहार किन भयो भनेर पूर्वराजाले सन्देशबाटै प्रश्न गरेका छन् ।
सन्देशमा आपत्ति प्रकट गर्दै भनिएको छ– २०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पुनस्स्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनस्स्थापनापछि पूर्वसहमति प्रतिकुल निर्णय हुादै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापूर्वक साथ दिएका हौं, यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट
भएको पाइन्छ ।
सन्देशमा हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको स्मरण गराउँदै शुभकामना सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मुल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको र यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको उल्लेख छ ।
राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान पुर्याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको छ, महाभूकम्प र बाढी पहिरोका कारण घरवास विहीन हुन पुगेका जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन सकेको छैन । ‘राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्दित हुन पुगेको देखिन्छ । राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्याउने त्रास थपेको छ, शान्ति, समृद्ध, सुरक्षित,सवल एवं अखण्ड नेपाल, गरिवी एवं अभावमुक्त नेपाल, हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपालको चाहना छ ।
मुख्य सवाल पूर्वराजाले विगत ११ वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपुगोस् त्यो यतिखेर सोचनीय विषय हो भनेर राजनीतिक नेताहरुसँग कुमारीचोक मागेका छन् ।