Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सत्ता खोस्न गणतन्त्र, शक्तिशाली हुन हिन्दूराष्ट्र

१४ सोमबार , चैत्र २०७३८ बर्ष अगाडि

    काठमाडौं । खुमबहादुरको पीठमा चढेर सभापति बनेका शेरबहादुर देउवाले आफ्नै वचनको खुन गरेर खुमबहादुरलाई उपसभापतिबाट पाखा लगाए, उनका निकटस्थ भनिएका नेताहरु यतिखेर देउवाको भद्रगोल कार्यशैलीबाट आजित भएर देउवालाई ठिक ठाउँमा ल्याएर छाड्ने भनेर पंक्तिवद्ध भएपछि देउवा आत्मरक्षा गर्न बाध्य भएका छन् ।
    वैशाख ३१ को निर्वाचन सकिनासाथ प्रचण्डलाई राजीनामा गर्न लगाएर आफ्नी श्रीमती आरजु देउवालाई प्रधानमन्त्री बनाउने र आफू पार्टी सभापतिका साथमा स्याडो प्रधानमन्त्रीसमेत चलाएर एकछत्र राज चलाउने देउवाको दाउ हरुवा दाउ बन्न पुगेको छ । आइतवारदेखि चलेको पार्टी केन्द्रीय समितिमा पार्टी सभापतिका राजदूत मनोनयन, आइजीपी बनाउने विषयमा भएको हस्तक्षेप, ठेक्कापट्टामा गरेको कमिशनखोरीका कुरा उठेका छन् र देउवाको खुलेर आलोचना भइरहेको छ । देउवा निर्लज्ज चुपचाप देखिन्छन् ।
    सुरुमै प्रभावशाली नेता खुमबहादुर खड्काले हिन्दुराष्ट्र हुनुपर्छ, सहमति हुन्न भने जनमत संग्रहको पक्षमा पार्टी निर्णय हुनुपर्छ भनेर राखेको लिखित प्रस्तावले सभापति देउवालाई ठूलै धक्का लागेको छ । यो प्रस्तावको पक्षमा प्रभावशाली र बहुमत सदस्यहरु देखिएपछि देउवा माखेसांग्लोमा फस्न पुगेका छन् । उनीभित्रको भय भनेको सत्ता हातमा आउँदैन कि भन्ने नै हो । पछिल्लो समय देउवा सत्ता आफ्ना हातमा लिनका लागि हुरुक्कै बनेका छन् ।
    कांग्रेसभित्र हिन्दुवाद हल्किएको देखेर देउवालाई सन्काएर त्यस्तो प्रस्तावमा निर्णय नगर्न खासगरी माओवादी निकटहरु खुलेर खबरदारी गर्न थालेका छन् । निरंकूशताको घोडा चढेर बुर्कुसी नमार्न सुझाव दिइरहेका छन् । एकातिर पार्टीभित्रबाट निरंकूश गुटवादी गरेको आरोप, पार्टीलाई कमजोर पारेको, छवि धमिल्याएको आवाजले पार्टीभित्र सभापति देउवाको छवि नराम्ररी धुमिल बनिसकेको छ ।
    यहीकारणले देउवा सुनिरहेका छन, बोलेका छैनन् र हिन्दुवादको नीतिबारेको प्रस्ताव उनले छलफलमा ल्याउनैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनपुगेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र खुमबहादुर खड्काको चक्रव्यूह रचनामा देउवा फसिसकेका छन् । त्यो चक्रव्यूहबाट निस्कन सभापतिले तिनका कुरा अनुसुना गर्न सक्ने अवस्था देखिदैन ।
    खुमबहादुर खड्का आक्रामक रुपमा प्रस्तुत भएपछि देउवाले खड्कालाई भेटेर मिलेर अघि बढ्न आग्रह गरेका छन् । भारत भ्रमण गरेर भारतले मानेन भनेर उपसभापति नबनाएका र खड्कासँग टाढा बसेका शेरबहादुर देउवा एकाएक खड्काका सामु नरम बन्नु भनेको देउवाको श्रीमतीलाई प्रधानमन्त्री बनाउने र कमजोर बनेको आफ्नो पार्टी हैसियत पुनर्ताजगीकरण गर्नका लागि हो भन्ने सबैले बुझेका छन् । खड्का र रामचन्द्रको सहयोग बिना पार्टी हाँक्न नसक्ने निष्कर्षसहित देउवाले खड्काको सहयोग खोजेका हुन् ।
    अगुल्टो खाएको बिजुली चम्किदा पनि तर्सिन्छ भनेझैं खुमबहादुर खड्का देउवाका चलाखी बुझिरहेका छन् र हिन्दुराष्ट्रको पक्षमा महामन्त्री सशांकजसरी सभापति पनि मान्छन् भने अरु कुरामा खड्काले ध्यान नदिने मनस्थिति बनाएको खड्काका हिन्दु अभियानका सहयोगीहरु बताउँछन् ।
    भारत उत्तर  प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ 
खुमबहादुर खड्काका पनि गुरु हुन् र दुबैविच राम्रो सम्बन्ध कायम छ । गत कार्तिकमा भएको महाहिन्दु सम्मेलनमा योगी काठमाडौं आएका थिए र खुमबहादुर खड्कासँग घुलमिल भएको समेत देखिएको थियो । यसकारण पनि खुमबहादुर खड्काले पार्टीमा हिन्दुराष्ट्र पार्टीको नीति हुनुपर्ने र यो मुद्दा छिनोफानो गर्न जनमत संग्रहमा जानुपरे जानुपर्छ भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
    नेपाली कांग्रेस हिन्दुराष्ट्र स्थापना महाभियान को प्रस्ताव कांग्रेसको वैठकसम्म पुगिसकेको छ । अव सभापति  यो प्रस्ताव छलफलमा ल्याउने कि नल्याउने भन्ने भद्रो हेरिरहेका छन् । आफ्नो सत्ता र शक्तिस्वार्थ प्रतिकूल हुने भयो भने यो प्रस्ताव थाँती रहनेछ भने अनुकूल हुने अवस्थामा देउवाले जोसुकै रिसाए पनि छलफलमा ल्याएर निर्णय गर्नसक्छन् । राप्रपा र कांग्रेसको यो गुटवीचमा हिन्दुराष्ट्र हुनुपर्छ भन्ने मामिलामा मतो मिलेको छ ।