काठमाडौं । अमेरिकाका सेनापति नेपाल आइसके, भारत र चीनका सेनापति पनि नेपाल आउने कार्यक्रम छ । किन जमघट हुँदैछ नेपालमा विश्वशक्ति राष्ट्रका सेनापतिहरु ?
अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस उच्चस्तरीय भेटघाट र नेपाली सेनाको अध्ययनमा जुटिसकेका छन् । नेपाल–अमेरिका वीचको सैन्य सहकार्य र सहयोगबारे छलफल विशेष छलफल भइरहेको छ । भन्नलाई उनको यो भ्रमण सद्भावना भ्रमण भनिएको छ तर उनको भ्रमणलाई रणनीतिक भन्छन् सैन्यविदहरु । हिजो उनले पाँचखालमा आयोजना भएको ‘अभ्यास शान्ति प्रयास ३’ नामक सैन्य अभ्यासको अवलोकन गरेका थिए । यो संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २८ देशका १ हजार २४ जना सैनिकले सहभगिता जनाएका छन् र यो अभ्यास राष्ट्रसंघको शान्ति मिसनमा काम गर्न सजिलो होस् भनेर आयोजना गरिएको हो । यो अभ्यास चैत ७ देखि २१ गतेसम्म चल्नेछ ।
यो प्रशिक्षणमा नेपालसहित, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्गो्ज्निया, घाना, रुवान्डा, जोर्डन, काजकिस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे छन् । साथै, अस्ट्रेलिया, क्यानडा, जापान, न्यूजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिकी सैनिक समेत सहभागी छन् । व्यवस्थापन नेपाली सेनाले खर्च नेपाली र अमेरिकी प्यासिफिक कमाण्डले बेहोर्ने छ ।
भारत र चीन दुई देशको वीचमा रहेको नेपाललाई सामरिक महत्वको मान्ने अमेरिकाले रणनीतिक महत्व दिएकाले पनि अमेरिकी नौसेना प्रमुखको यो भ्रमण अर्थपूर्ण मानिएको छ ।
यसैवीच चिनियाँ रक्षामन्त्री नेपाल आउँदै छन् ।
अमेरिकी सेनाप्रमुख फिर्ता हुनासाथ चीनका रक्षामन्त्री चङ् वानछुन नेपाल भ्रमणमा आउने छन् । १० गते नेपाल आइपुग्ने चीनका रक्षा मन्त्रीले नेपाल र चीनवीचको रक्षा सहकार्य र सहयोगबारे विशेष छलफल हुनेछ । तर रक्षा मन्त्रालयले यो नितान्त सद्भावना भ्रमण भनेको छ ।
चीनका रक्षामन्त्री फिर्ता हुनासाथ भारतका सेनापति विपिन रावत नेपाल भ्रमणमा आइपुग्नेछन् । भर्खर प्रधानसेनापति बनेका विपिनको पहिलो भ्रमण नै नेपालमा हुन लागेको हो । भन्नलाई राष्ट्रपतिबाट मानार्थ नेपाली सेनाको प्रधानसेनापतिको पदवी ग्रहण गर्न आउन लागेको बताइए पनि एकपन्थ दुईकाजको मिसन बोकेर रावत नेपाल आउनेछन् । नेपाल र भारतका प्रधानसेनापति एकदोस्रा मुलुकका मानार्थ प्रधानसेनापति लिनेदिने प्रचलन रहेको छ र सैनिक स्तरमा राम्रो सम्बन्ध विकसित रहेको अनुभव छ । नाकावन्दीका समयमा सैनिक पहलकै आधारमा नाकावन्दी खुलेको थियो ।