काठमाडौं । मोरङको मझारे सीमाको दशगजा मिचेर राजमार्ग निर्माण गरेको भारतले दाङ्मा सीमा पिलर उखेलेर फाल्दै नेपाली भूमि अतिक्रमण गरेको छ ।
कञ्चनपुरमा सीमा अतिक्रमण रोक्ने गोविन्द गौतमको हत्या गरेपछि भारतले सीमा अतिक्रमणलाई तीब्रता दिएको छ । भारत जसले आफ्नो योजनामा बाधा गर्छ, उसलाई मार्ने रणनीतिमा उत्रिएको अनुभूति गर्न थालिएको छ । यति हुँदा पनि नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
देशको सीमा पराईले हडप्दैछ, राजनीतिक दलहरु संविधान संशोधनका विषयमा माथापच्ची गरेर जुँगाको लडाइ लडिरहेका छन् । देशको सीमा अतिक्रमण हुँदा पनि चिन्ता नगर्ने यो कस्तो राजनीति, सरकार र नेतागिरी होला ?
भारतले ६३ ठाउँमा सीमा अतिक्रमण गरेर भारततिरको भाग अग्लो पार्दै सडक निर्माण गरिरहेको छ । यसबाट नेपालतिर वर्षाको पानी जमेर दह बन्ने र डुवानमा पर्ने समस्या बढ्छ । अन्तर्राष्ट्रिय नियमले पनि दशगजा छुन चलाउन र जोडेर कुनै संरचना बनाउन पाइन्न । तर भारतले नेपाललाई अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार गर्न छाडेको छ । भारतकै प्रान्तको जति पनि महत्व दिन छाड्नुले नेपालको सार्वभौमिकता साँघुरिदै गएको छ । लोकतान्त्रिक भन्न रुचाउने संसद, सरकार र पार्टीहरुले राष्ट्रिय अस्तित्वमाथि भारतले बोलेको यो खुलेआमको हस्तक्षेपकारी धावाबारे चुँइक्क बोलिरहेका छैनन् ।
मोरङ र दाङ सीमा क्षेत्रका जनता उजुरी गरेको हो, प्रशासनले वास्तै गर्दैन, उल्टै उजुरी कसले गरेको भनेर भारतीय सीमा सुरक्षा बल आएर धम्क्याउने, कुट्ने, मनलागी गरेर हेप्ने गर्छन्, ज्यान जोगाउनै धौधौ छ भन्छन् । यसैवीच धनगडीबाट खबर आएको छ– भारतमा काम गरेर फर्कने नेपालीहरुसँग सीमाचौकीमा पैसा माँग्ने गरिन्छ । पैसा नदिए गोली खान्छस् भनेर बन्दुक ताक्ने, धम्क्याउने, तर्साउने घटनाहरु बढेर गएका छन् । कञ्चनपुर घटनापछि सीमामा नेपालीमाथि दुव्र्यवहार झन बढेको छ ।