Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गंगामायाँको गुहार अन्तर्राष्ट्रिय अदालत पुग्नेभो

१६ सोमबार , फाल्गुण २०७३८ बर्ष अगाडि

गोर्खा फुजेलबाट चितवन हिडेका आफ्नो कान्छो छोरोलाई माओवादीले मार्‍यो भनेर आमाबाबु गंगामाया र नन्दप्रसाद अधिकारी न्याय चाहियो भनेर अनसन बसे । बाबु नन्दप्रसादको ३ सय ३३ दिनको अनसनपछि मृत्यु भयो र उनको शवको सदगद अझै हुनसकेको छैन । टिचिङ अस्पतालको यही फ्रिजमा नन्दप्रसाद अधिकारीको शव ३ वर्षदेखि राखिएको छ । गंगामाया ५ वर्षदेखि न्याय पाउँ भनेर अनसन बसिरहेकी नै छिन् । सरकारले अनेक तरहले गंगामायाँलाइ बचाएको छ तर उनको छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कानुनी कठघरामा उभ्याएर न्याय दिन सकिरहेको छैन ।
अधिकारकर्मीहरु अहिले पनि दण्डहीनताको अन्त्यका लागि चिच्याइरहेका छन् । नागरिक समाजले पहिले गंगामाया दम्पत्तिलाई बचाउन अनेक प्रयत्न गरेकै हो, अदालतदेखि सरकारको ढोका घचघच्याएकै हो, सडकमा मैनबत्ती जुलुस निकालेर न्याय खोजेकै हुन् तर सरकारले न्याय दिनेतिर निर्णायात्मक कदम चालेन । अहिले पनि गंगामायाले न्याय पाउनैपर्छ भनेर अधिकारकर्मी, नागरिक समाज र आमजनताले माग गरिरहेकै छन्, एउटी आमा यसरी न्यायका लागि ५ वर्षदेखि अनसन बसिरहदा पनि न्याय पाइनन् ।
कस्तो लोकतन्त्र हो यो ? लोकतन्त्र आएको १२ वर्ष र संविधान जारी भएको २ वर्षमा पनि विधि बस्न सकेन, दण्डहीनता झन बढेको छ र गंगामायाँहरु न्याय न्याय भन्दै मृत्यु कुरेर बस्नुपरेको छ ।
गंगामायाँ अधिकारी यतिबेला विश्व चासो बन्दै गएकी छिन् । यतिबेला नेपालमा जर्मनका सांसद नोरिपोर आएका छन् र उनले गंगामायाँलाई गएर भेटेका छन् । उनले भेट गर्न जाँदा गंगामायाँले उनीसँग पनि न्याय दिलाईदिन आग्रह गरिन् । रुँदै छोरो मारिएको र न्याय नपाएको गुनासो गरिन् । अव म मर्छु भन्दै नमर्दै छोराको हत्यारालाई कारवाही भएको हेर्ने इच्छा व्यक्ति गरिन् । जर्मन सांसदको आँखामा आँसु देखियो, नेपाली सांसदहरुले कहिल्यै यसरी गंगामायाँलाई भेटेनन्, उनका बारेमा चर्चा गरेनन्, न्याय दिनुपर्छ भन्ने संवदेनशीलता पनि देखाएनन् ।
जर्मन सांसद ओमिद नोरिपोरले गंगामायाँलाई तपाईमाथि भएको अन्यायको मुद्दा म अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने छु भनेर बचन दिए । दोषीले दण्ड पाउनैपर्छ भन्ने आश्वासन पनि दिए । जर्मनको ग्रीन पार्टीका अन्तर्राष्ट्रिय मामिलाका प्रवक्ता पनि हुन् सांसद नोरिपीर । वीर अस्पतालको क्याविन नं. १७ को यो घटना अव अन्तर्राष्ट्रिय मुद्दा बन्ने निश्चित छ । जर्मन सांसदको यो भेटलाई हल्का रुपमा लिइयो भने त्यो बेपत्ता तथा मेलमिलाप आयोगका लागि मात्र होइन, नेपाल सरकार, संविधान, अदालत र नेपालको लोकतान्त्रिक पद्धतिका लागि समेत बुमेर्‍याङ हुनपुग्नेछ । यो गम्भीर विषय हो र गम्भीरताका साथ दण्डहीनताको अन्त्य गर्दै गंगामायाँलाई न्याय दिनुमा नै नेपालको हित हुने देखिन्छ ।
जर्मन सांसदले पत्रकारहरुसामु स्पष्ट शव्दमा भनेका छन्– ‘तपाईको संघर्ष उदाहरणीय छ, शान्तिपुर्ण छ, तपाईको न्यायको माग विश्व समुदायको माझ पुगेको छैन्, म न्याय दिलाउनको लागि काम गर्नेछु, तपाईको यो शालिन संघर्षलाई सबैले जान्नुपर्छ, बुझ्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायको ध्यान जान आवश्यक छ, म त्यसको लागि सकेसम्मको पहल गर्नेछु ।’
गंगामायाँ अधिकारीले नोरिपोरलाई भनिन्– म हतियार उठाउन सक्दिन । म पीरले ग्रस्त छु, धेरै बाँच्ने आशा छैन, बाँच्दैमा न्याय पाए हुन्थ्यो । सरकारले करोडौं दिन्छु भनेको छ, मलाई पैसा चाहिन्न, न्याय पाए हुन्छ ।
जर्मन सांसदले गंगामायाँलाई भेट गर्दा अधिकारकर्मीहरु चरण प्रसाई, सुबोध प्याकुरेल, कनकमणि दिक्षित, राजन कुइकेलहरु पनि साथै थिए ।
गंगामायाँको न्यायको गुहार अव अन्तराष्ट्रियकरण हुँदै हेगसम्म पुग्ने बताउँछन् अधिकारकर्मीहरु । तर सरकार भने पीडितलाई राष्ट्रिय ढुकुटीबाट क्षतिपूर्ति दिएर जनयुद्धकालीन सबै मुद्दा मेलमिलापमा टुङ्ग्याउने तैयारीमा जुटिरहेको छ । सम्भव होला ?