राप्रपा फेरि राजेश्वर, लावती, रविन्द्र, विष्ट पथमा नजाओस् , काठमाडौं । संविधान स्वीकार गरेको राप्रपा नेपालले पहिले भनेको थियो– निर्वाचनमा दुई तिहाई सिट जितेर संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रसहितको संविधान संशोधन गर्नेछों । राप्रपा नेपाल र राप्रपामा एकीकृत भएको छ र यसको शक्ति दुगुना बढेको छ । अव राप्रपाका अध्यक्ष कमल थापा भन्छन्– चारवर्षभित्र आफ्नै नेतृत्वमा सरकार बनाउँछु । एकीकृत राप्रपा अहिले पनि चौथो र निर्णायक पार्टीका रुपमा रहेको छ । पहिलो संविधानसभाको निर्वाचनमा ४ सिटमा सिमित थियो राप्रपा अहिले ३७ सिटमा पुगेको छ र आगामी माघ ७ सम्ममा स्थानीय तह, प्रदेश, राष्ट्रियसभा र संसदको निर्वाचनमा जुटिसकेकाले ती सबै निर्वाचनमा राप्रपाको परफरमेन्स हेर्न लायक हुने विश्लेषकहरुको किटानी दावी अहिले नै देखिन थालेको छ । यसैवीच अध्यक्ष कमल थापाले सबै ठूला दलहरुको सातो जाने गरी आफ्नै नेतृत्वमा सरकार बनाउने दावी गर्नुले राप्रपाभित्रको हौसला अनुमान गर्न सकिन्छ ।
अध्यक्ष थापाको कथन छ– आदर्श र मान्यता, सिद्धान्तको धरातल र निर्वाचन जितेर आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने उद्देश्य छ । मेरो चारवर्षको कार्यकालको लक्ष्य यही हो । नेपालको राजनीतिमा राप्रपाले वैकल्पिक मार्गैिचत्र र राष्ट्र निर्माणको वैकल्पिक धार निर्माण गरेको छ । यसलाई आम जनतामा पुर्याउने र जनताको विश्वास जितेर यो लक्ष्य प्राप्त गर्न म हरसम्भव प्रयास गर्छु । राप्रपाले आफ्ना फरक मतका बाबजुद यो संविधानलाई स्वीकार गरेको छ । हाम्रो गतिविधि, क्रियाकलाप संविधान विपरीत हुने छैन । राप्रपाले संघीयता, हिन्दुराष्ट्र र राजतन्त्रको मध्यमार्गी धार लिएको छ । यो नेपालको राजनीतिक, सामाजिक, साास्कृतिक, आर्थिक परिवेशको सन्दर्भमा उपयुक्त मान्यता हो । लोकतान्त्रिक राजतन्त्र मौलिक लोकतान्त्रिक व्यवस्था हुनसक्छ भन्ने हामीलाई लाग्छ ।
फरक मतका बाबजुद संविधान कार्यान्वयनमा हामी
सहयोग गर्छौं । संविधान संशोधनका केही दफामा हाम्रो गम्भीर आपत्ति भएकाले परिमार्जन हुनुपर्छ । मधेसका समस्या समाधान गर्नुपर्छ र मधेसी दललाई विश्वासमा लिएर नै चुनावमा जानुपर्छ भन्ने राप्रपाको विचार छ । हामी परिवर्तका विरोधी होइनौं । तर परम्परागत संस्थालाई मान्यता दिऔं । खासगरी राष्ट्रियता र राष्ट्रिय एकतासँग सरोकार राख्ने संस्थाहरुसाग सहकार्य गरेर अघि बढौं भन्ने हाम्रो प्रस्ताव हो ।
प्रचण्ड, केपी ओली, शेरबहादुर, बाबुराम भट्टराईजीहरुसँग कुरा गर्दा भन्नुहुन्छ कि तपाईहरुको धारणा, अडान स्पष्ट छ । मुलुकको बृहत्तर हितका निम्ति आफ्ना मान्यता फरक हुँदाहुँदै सहकार्य गर्न सक्छौं । संविधानले आफ्नो विचार स्थापित गर्ने अधिकार सबैलाई समान रुपमा दिएको छ भने के को झगडा भयो ?
यतिबेला राप्रपा वैकल्पिक शक्ति बन्ने अभियानमा लागिसकेको छ । राप्रपाका सहयोगीहरु भन्छन्– हाम्रा सुझाव यत्ति छ कि राप्रपा फेरि राजेश्वर, लावती, रविन्द्र अथवा केशर विष्टको पथमा नजाओस् ।
राप्रपा जन्मेदेखि नै गुट, फुट र जुटको रोगबाट ग्रसित हुँदै यहाँसम्म आइपुगेको हो । फेरि त्यस्तो नहोस् ।