मोर्चाले आन्दोलन घोषणा गर्यो भने भारत उतैतिर लाग्नेछ
काठमाडौं । यसै भन्छन्– भारतलाई बुझ्नेहरु । अहिले पनि संविधान संशोधन हुनैपर्छ र मधेसी मोर्चालाई साथ लिएर अघि बढ्न भारतीय नेताहरु नेपालमाथि दबाब दिइरहेका छन् र प्रधानमन्त्री पुष्पकमल दाहाल सर्वसम्मतिबाट संशोधन प्रस्ताव पारित हुन्छ, निर्वाचन घोषणा पनि हुन्छ भनेर आश्वासन बाँडिरहेका छन् ।
निर्वाचन घोषणा हुनसक्छ, तर मधेसी मोर्चाले निर्वाचन विपरित आन्दोलनको घोषणा गर्छौं भनिसकेको छ । आन्दोलनका लागि मधेसी मोर्चाका दलहरु छलफलमा जुटिसकेका छन् । उनीहरु स्थानीय तहको सिमांकनमा समेत चित्त बुझाइरहेका छैनन् र निर्वाचन हुन्छ भन्ने विश्वासयोग्य वातावरण बन्न सकेको देखिदैन ।
देउवाको दाउ : कांग्रेस सभापति शेरबहादुर देउवाले वैशाख मसान्तभित्रै निर्वाचन हुनुपर्छ भनेर प्रधानमन्त्री दाहाललाई थप दबाब दिइसकेका छन् र निर्वाचन लगत्तै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भद्रसहमति समेत स्मरण गराएका छन् । दाहालले स्थानीय निकायको निर्वाचन गराउने र प्रदेश, राष्ट्रियसभा र संसदको निर्वाचन गर्ने गराउने जिम्मेवारी आफूले लिने देउवाको रणनीति देखिन्छ । तर दाहाल निर्वाचन टार्दै गएर सरकार लम्ब्याउने दाउपेचमा लागेको आरोप छ कांग्रेस र एमालेको ।
राजनीतिक परिदृश्य किन पनि रोचक बनेको छ भने ओलीले सहमति तोडेकाले प्रचण्डले सत्ता आफ्नो हातमा लिए, प्रचण्डले सहमति तोडे कस्ता दृश्य देखिएलान् ?