मधेसमा सिके राउत, पहाडमा नेकपा माओवादी
काठमाडौं । मधेसमा सिके राउतले उधुम मच्चाउन थालिसकेका छन् । सिके राउत मधेस देशको नारा लगाएर अखण्ड नेपालको विभाजनको आगो फुकिरहेका छन् । दिनदिनै सिके राउतका प्रचारकहरु पक्राउ पर्ने र छाड्ने गरिएका छन् । पक्राउ गर्नु र छाड्नुमात्रले बिखण्डन र विभाजनको राउतको विभाजनकारी राजनीतिको अन्त हुनसक्दैन । राउतका विपक्षमा मधेसी मोर्चाका दलहरुले पनि चुँइक्क नबोल्नु र आफ्ना कार्यकर्ताहरुलाई राउतकै पक्षमा प्रचारक बनाउनुले पनि मधेस टुक्य्राउन ठूलै षडयन्त्र भइरहेकोमा अव शंका छैन । यही सुइँको, सुराक पाएर सेनाले मधेसमा उपस्थिति बाक्लो बनाएको छ ।
उता नेकपा माओवादी रोल्पाबाट फेरि बिद्रोहको आवाज उकेल्दै अर्को जनक्रान्तिको बिगुल बजाउन निर्णयमा पुगेको छ । संसदीय सत्तामा बस्नेहरु दलाल हुन्, विदेशपरस्त हुन् भन्दै माओवादीले बैकल्पिक सरकार चलाउने र जनताको सेवा गर्ने भन्दै संसदवादलाई असफल पार्ने धरापका रुपमा खडा हुने निर्णय गर्नुले आगामी माघ ७ भित्र हुनै पर्ने संवैधानिक बाध्यताअनुरुपका चुनावहरु होलान् र ? भन्ने संशय उठाइदिएको छ ।
यसरी मधेसमा सिके राउत र पहाडमा विप्लव अर्थात नेकपा माओवादी संसदवाद र वादीको विरुद्धमा खडा भइसक्दा पनि संसदवादी उही सत्ताको घीनलाग्दो खेल र भागबण्डाको राजनीतिमा व्यस्त देखिदैछन् । यहाँसम्म कि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा समेत राजनीतिक भागबण्डा चलाएर संसदवादीले बिरोधी र बिखण्डनबादीलाई बोल्ने र बिद्रोह गर्ने मैदान उपलव्ध गराइदिएका छन् । विज्ञ विशेषज्ञहरु भन्छन्– संसदवादीकै चरित्रहीनता, असफलता र अकर्मण्यताका कारणले सिके राउत र माओवादीहरु बढ्ने अढाउने काम गरिरहेको छ ।
शान्ति होइन, अव राष्ट्रिय संकटहरु सन्निकट देखिदैछन् । ठूलै विद्रोह, विद्रोह दमन गर्न रक्तपात र नरसंहारको खतरनाक सम्भाबना देखिसकियो, यसलाई नकार्न सकिने अवस्था छैन ।