सत्ताधारीको दुईतिहाईको दोहोलो काढिने
सरकारसँग अव वार्ता गरौं भन्ने मधेशे मोर्चाले अझै आफैलाई साथ दिएपछि हौसिएका प्रचण्ड, बाबुरामहरु फाल्गुन १६ गते दुई तिहाईको 'गाला चड्काउने' जनप्रदर्शन गर्दैछन्। यो विरोधसभामात्र होइन, जनयुद्ध जनआन्दोलनमा सेफ लेण्डिङ गरेपछिको अकल्पनीय जनशक्ति प्रदर्शन हुने दावी गरेका छन् प्रचण्डले। प्रचण्डको यो जनसभालाई बैद्य, विप्लव, मणि गुटलेसमेत सहयोग गरेर प्राप्त उपलव्धिलाई बचाउन मद्दत गर्ने मनसुवा बनाएका खबरहरु आइरहेका छन्। माओवादी र मधेशवादीको यो शक्ति प्रदर्शन सफल भयो भने कांग्रेस, एमालेसँग भएको दुई तिहाईको दोहोलो काढिने सभा हुने दावी गरिदैछ। प्रचण्डले पटक पटक संविधान घोषणा र हतियार बुझाउने काम साथसाथै नगर्नु गल्ती भएछ भनेर आत्मालोचना गरिसकेका छन्। तिनै प्रचण्ड शायद सुरक्षित अवतरण खोजिरहेका छन्।
प्रचण्डले विशेष अधिवेशन डाकेर पार्टीको नेतृत्व डा.बाबुरामलाई छाड्छु भनिसकेको सन्दर्भमा प्रचण्ड आफ्ना लागि भूमिका खोजिरहेका छन् र त्यो भूमिका राज्यको ठूलै पद हुनुपर्छ भन्ने अड्कलवाजी चलिरहेका बेलामा प्रचारमा आएको छ कि प्रचण्ड संविधान घोषणापछि राष्ट्रपति हुन चाहेका छन् रत्यसमा सबैभन्दा ठूलो बाधा बनेका छन् एमाले अध्यक्ष केपी ओली। यहीकारण प्रचण्ड ओलीलाई 'पागल' भन्नेसम्मको आरोप लगाइरहेका छन् भने ओलीमात्र के कम? प्रचण्डलाई बाँदरको संख्या दिन पछि परेनन्। यस्ता तिखा र तिक्त आरोप प्रत्यारोपले वातावरण निकै धमिलो बनिसकेको छ र आ–आफ्नो अहं पुष्टि गर्न प्रचण्ड १६ गतेको जनप्रदर्शनलाई इज्जतको सवाल बनाएर अघि बढेको देखिन्छ भने ओली दुई तिहाईकै बलमा संविधान जारी गर्ने र सम्भव नभएको अवस्थामा प्रचण्डका कारण संविधान बन्न सकेन भनेर जनतालाई भ्रमित पार्ने षडयन्त्रमा लागेका छन्। हेर्नु यत्ति छ कि सत्ताधारी र प्रतिपक्षको घम्साघम्सीमा को सही र को गलत साबित हुनेछ?