काठमाडौं । नेपाली सेना बिग्रदो राजनीतिक र कानुनव्यवस्थाप्रति चिन्ता गर्दै आफूलाई हाई अलर्टमा राख्न बाध्य भएको छ । सबैले सुन्नेगरी प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण गोष्ठीमा बोल्दै भनेका छन्– ‘मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि कूटनीति र सुरक्षा नै मुख्य खम्बा हो ।’ यो यस्तो गोष्ठी हो, जहाँ रक्षा, परराष्ट्र, गृह तथा अन्य उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
यसअघि नेपाली सेनाले देशभरिका पृतनापतिहरुको जंगी अड्डामा भेला गरेको थियो भने त्यसपछि पूर्व प्रधानसेनापतिहरुसँग विशेष भेटघाट गरेर नेपाली सेनाको शक्ति, सामथ्र्य र भावी रणनीतिसमेत तय गरिसकेको छ । नेपाली सेनाले यी सब तैयारीहरु राजनीतिक उद्देश्यका लागि गरेको नभई देशको शान्तिव्यवस्था खलबलिने स्थिति आयो भने त्यो अराजकतालाई कसरी ट्याकल गर्ने र डिरेल स्थितिलाई लिकमा ल्याउन भूमिका खेल्ने भन्ने सन्दर्भमा भएको स्रोतले दावी गरेको छ ।
नेपाली सेनामात्र त्यस्तो संस्था हो, जहाँ अहिलेसम्म राजनीतिकरण भएको छैन र संविधानअनुसार सेना आफ्नो संगठनलाई व्यवसायीकरण गर्न तत्परताका साथ लागिरहेको छ । नेपाल प्रहरी र सशस्त्र बलमा आइजीपी नियुक्ती प्रकरणमा जुन प्रकारका नाङ्गो राजनीतिक चलखेल देखियो र यो विषय राजनीतिक झगडाका रुपमा अदालतसम्म पुगेको छ, त्यसबाट समेत राजनीतिक सन्तुलन र सत्तासमीकरणमा कालो छायाँ पर्ने खतरा देखिएको छ ।
एकातिर संविधान संशोधन र निर्वाचनको मामिलाले राजनीति भताभुङ्ग बन्दै जानु र अर्कोतिर मधेस आन्दोलन र भागबण्डे राजनीतिले राष्ट्रिय समस्याहरुमा झिकिदे गाँड भन्दा थपिदे गाँड हुनुले सेनाको भूमिका प्रष्ट देखिन थालिसकेको छ ।
त्यसैले नेपाली सेना परिआए शान्तिव्यस्था र देशरक्षाका लागि कडा कदम चालन सन्यासो सहित सतर्क हुनु स्वभाविक हो भन्छन् विज्ञहरु ।