Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दलाई लामा नेपाल आउने किन ?

२४ सोमबार , माघ २०७३९ बर्ष अगाडि

काठमाडौं । नेपाल–चीन सम्बन्धमा अमिलो निचोरेर फटाउने अमूक अस्त्रका रुपमा दलाई लामालाई नेपाल भित्र्याउने नयाँ मिसन पाएको छ प्रचण्ड सरकारले । गृहमन्त्री विमलेन्द्र निधि दलाई लामालाई लुम्बिनीमा बुद्ध दर्शन गर्न आउन दिन किन नहुने भनेर लविङ् सुरु गरिसकेका छन् ।
तिब्बतबाट पलायन भएर भारतको धर्मशालामा बसोबास गरिरहेका धर्मगुरु दलाई लामाले नेपाललाई केन्द्र बनाएर लामो समयदेखि फ्रि तिब्बत मुभमेन्ट चलाइरहेका छन् । चीनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन र नेपालको एक चीन नीतिको प्रतिवद्धता समय समयमा खोजिरहेको छ ।
गत महिना कांग्रेस सभापति देउवा भारतको गोवाको एक कार्यक्रमा दलाई लामाका प्रतिनिधिसँग भेटघाट गरेर आएपछि कर्नाटक विधानसभाले महिला सांसद सम्मेलन आयोजना गरेर सभामुख ओनसरी घर्तीलाई निम्त्याएको थियो । त्यहा दलाई लामा नै आउने थाहा पाएपछि उनी जाने कुरा रद्द गरेकी छिन् । देउवाभन्दा ओनसरी बाठी बनेको यो दृश्य देशहितमै देखियो ।
अव भारत र पश्चिमा जसरी पनि दलाई लामालाई नेपाल भित्र्याउने मिसनमा लागेका छन् र त्यसो गर्दा एमालेको राष्ट्रवाद
 र नेपाल–चीनवीचको सम्बन्ध बिग्रने सोच छ भारतको । त्यसै पनि पहिले देखि नै धर्मगुरु दलाई लामाले जहाँ टेक्यो, त्यो भूमि नै पवित्र हुने प्रचार नेपालमा गरिने गरेको छ । होला, दलाई लामा धर्मगुरु हुन् र उनले टेकेको धर्ती पवित्र पनि होला । तर उनले आफ्नो तिब्बतलाई स्वतन्त्र गराउने मोर्चा नेपालालाई बनाउनु, नेपालबाट फ्रि तिब्बतका लागि कहिले खम्पा आन्दोलन त, त्यसपछि अनुयायीहरुलाई प्रयोग गरिरहनु, केहीवर्ष अघि बौद्धमा एक अनुयायीलाई आत्मदाह गर्न लगाएर पनि उनको विद्रोहले विश्व प्रचार पाएकै थियो । अव पश्चिमा र भारतको गोटी बनेर दलाई लामा नेपाल पस्न खोज्नु नेपालका लागि समदूरीको परराष्ट्रनीति नै खलबलिन सक्ने देखिएकोले सरकारले दलाई लामाको इज्जत गरेर देशको स्वतन्त्रता र नीतिलाई खतरामा पार्नु दुर्भाग्य हुनसक्ने खबरदारी बुद्धिजीवीहरुले गर्न थालेको सुनिदैछ । स्मरणी छ, केही समयअघि मंगोलियामा यसैगरी पश्चिमा र भारतको दबाबमा दलाई लामालाई हुलियो र मंगोलिया र चीनको मीठो सम्बन्ध नराम्ररी बिग्रिन पुग्यो ।
चीनले दलाई लामालाई नेपाल पसेको हेर्न चाहिरहेको छैन । नेपालले पनि एकचीन नीतिमा प्रतिवद्ध रहेको स्थितिमा चीन नाखुस हुनेगरी दलाई लामालाई नेपाल भित्र्याउनु जोखिमपूर्ण हुनेछ । भारतलाई खुशी पार्न चीनलाई चिढ्याउने किन ? हाम्रा लागि चीन र भारत दुबै छिमेकी हुन्, महत्व दलाई लामाको स्वागतको होइन, नेपालको नीतिको रक्षा र नेपाललाई विदेशी चलखेलको मैदान बन्न नदिने पनि हो । नेताहरुले विदेशी दबाबमा जे पायो उही निर्णय गर्दा नेपालमाथि दूरगामी असर पर्नसक्छ । त्यसैले सतर्क हुनु राम्रो ।