डा.बाबुराम भट्टराईले अमेरिकामा ट्रम्पिजमको हावा चल्यो र हिलारी क्लिण्टनले चुनाव हार्नुपर्यो, त्यो हावा नेपालमा पनि आउनसक्छ, ओलिजमको हावाज चल्न सक्छ भनेपछि माओवादी र कांग्रेस पार्टी झसङ्ग झस्किन पुगेका छन् । भारत र अमेरिकामा जुन हावा चल्छ, त्यो छिटो नेपालमा आउने गरेको छ । त्यसमाथि पनि राष्ट्रवादको हावा त झन छिटो सुनामीका रुपमा आउनसक्छ ।
एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनको विषयमा राष्ट्र नै बिखण्डन र बिभाजन गर्न लागेको आरोप लगाएर आन्दोलनको नेतृत्व गरिरहेका छन् । माओवादी र कांग्रेसको गठबन्धन सरकार नेपालको एकता बिभाजित गर्ने भारतीय चालवाजीमा हतिायारका रुपमा प्रयोग भइरहेको आक्षेप पनि लगाएका छन् र पार्टीका तर्फबाट ५ नम्बर क्षेत्रबाट पहाड र मधेस अलग गराउनु हुन्न भन्ने अभियानलाई देशव्यापी बनाउने कार्यक्रम समेत घोषणा गरिसकेका छन् ।
सम्भवत: यिनै कारणले गर्दा र नेपाली जनता राष्ट्रवादका विषयमा छिटो भावुक हुने स्वभाव बुझेका नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईको कथनमा सत्य सावित हुनसक्छ र नेपालमा ओलिजम ट्रम्पिजमजस्तै निर्णायक भएर जनताका माझमा लोकप्रिय हुनसक्छ । दलहरुमा यस्तो विश्लेषण भइरहेको छ ।