निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अदालतभित्रै कालोमोसो दलेर चर्चामा आएका विप्लव माओवादीले भ्रष्टाचारी र भारतवादीहरुलाई लछारपछार पार्ला र राष्ट्रवादी आन्दोलनको आगो बाल्ला भनेर प्रतिक्षा गरिरहेका आमनागरिक निराश बन्दै गएका छन् । कारण विप्लव र बैद्यहरु चर्को भाषण गरिरहेका छन्, राष्ट्रघाती क्रियाकर्महरु घटेका छैनन् । सत्तासीन र पहुँचवालाहरु जनघात, देशघात गर्न झन झन हौसिएका देखिदैछन् । खबरदारी गर्ने शक्ति सशक्त नहुँदा भागशान्ति जय नेपाल गर्ने लोकतान्त्रिक संस्कार झन बलियो बन्दै गएको छ ।
‘जलस्रोत माथिको हस्तक्षेप र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रियामा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले खुलेरै ललकारे– अव भारतलाई देश बेच्ने शासकलाई लघार्छौं । यसअघि सय जना भ्रष्टाचारी माओवादी नजरमा भएको र तिनीहरुमाथि कारवाही गछौं भनिरहेका विप्लवले देश भारतलाई बुझाउने प्रतिस्पर्धा चल्यो, अव देश बेच्ने शासकहरुलाई कारवाही गर्ने निर्णयमा पुगेको छ ।
यसअघि विप्लव र बैद्यले मिलेर स्वाधीनता बचाउने, मोरङबाट भारतीय वाणिज्य दूतावास हटाउने र अपर कर्णाली सम्झौता खारेज गराएर भारतीय जीएमआर कम्पनीलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यी बिद्रोही माओवादीको ठहर छ– कांग्रेस, एमाले र माओवादीमात्र नेपाल होइन, भारतले यो कुरा बुझ्नुपर्छ । नेपालीले लगानी गर्न, सेयर किन्न नपाउने, नेपालको पानीबाट बिजुली निकालेर नेपालालाई नै बेच्ने ? यस्तो राष्ट्रघात, हस्तक्षेप मान्य छैन, यस्ता सबै योजना खारेज गराइन्छ । यसरी कुर्ले पनि वैद्य र विप्लवले परिणामुखी आन्दोलन गर्न सकेको देखिदैन ।
र, वैद्यले भनेका छन्– जलस्रोत भारतलाई बेच्नेहरुको हिसावकिताव गरिन्छ, अव तिनलाई तह लगाइन्छ । मोहन वैद्य लामो समयदेखि प्रभावहीन बोली बोलिरहेका र मोहनविक्रमले साथ दिए पनि उनीहरुसँग भ्रष्ट नेता प्रशासक तर्सेको देखिदैन ।