‘वाह्य शक्तिको अनुचित प्रभावले राष्ट्रलाई कमजोर पार्न र राष्ट्रिय गौरव मेट्ने षडयन्त्र भइरहेको’ ले ‘जनता जाग्नुपर्छ’ भन्ने पूर्वराजाको एउटा वक्तव्यले जनयुद्ध, जनआन्दोलन हाँकेका र सरकार प्रमुख रहेका पुष्पकमल दाहालको सातो लियो र उनले मन्त्रिपरिषदकै बैठकमा भारतवादी गृहमन्त्री विमेलेन्द्र निधिलाई उचालेर ‘संघीय गणतन्त्रको विरुद्ध षडयन्त्र हुनसक्ने मात्र भनेनन्, सरकार दरवार हत्याकाण्डमो पुन: छानबिन गर्ने अतिप्रचार गर्नसमेत पुग्यो । यतिले पेट भरिएनछ, प्रधानमन्त्रीको ‘चुप लागेर नबसे दु:ख पाउँछन्’ भनेरसमेत पूर्वराजालाई धम्क्याए ।
पूर्वराजाको राजनीतिक वक्तव्य वा प्रधानमन्त्रीको धम्कीको कर्मकाण्ड जेसुकै होस्, अव पूर्वराजा र प्रधानमन्त्री आमनेसामने आइपुगेका छन् । राष्ट्र संकटमा छ, सरकार विदेशभक्त बनेको छ, संसदमा पहाड र तराईलाई अलग गराउने प्रपञ्च चलिरहेको छ र सांसदहरु तमासा हेरिरहेका छन् । नागरिक समाज भन्ने समूह जिब्रो तालुमा टाँसेर बसेको छ, अधिकारकर्मीहरु राष्ट्रको अधिकारका लागि बोलिरहेका छैनन्, मुलुक कुशासन र दण्डहीनताको सिकार भइरहेको छ । यो अवस्थामा खबरदार भन्ने पूर्वराजा नै एकमात्र शक्तिका रुपमा देखिएका छन् ।
हुन त न पूर्वराजको वक्तव्यले राजतन्त्र फर्कन्छ, न प्रधानमन्त्री दाहालको धम्कीले कुनै लछारपाटो लगाउँछ । पुस २७ गते एकता दिवसको बिदा दिए पनि राजतन्त्र फर्कने होइन । न त ठाउँ ठाउँका राजाका सालिक हटाएर राजावादी सकिए । लोकतन्त्र लोकप्रिय हुनसकेन, किन ? पुष्पकमल दाहाल वा अरु नेता जनतामा सम्मानित थिए, आज घृणाका पात्र बनेका छन्, कसका कारणले ? एकता भाँडियो, बिखण्डनका बाजा बज्न थाले, देश टुक्रिने खतरामा छ, संसद रणभूमि र राष्ट्र युद्धमैदान बनाइँदैछ किन ? यी यस्ता सवाल हुन्, जसको जवाफका जिम्मेवार नेताहरुको
धर्मनिरपेक्षतासहितकोलोकतान्त्रिक गणतन्त्रको निकृष्टता र असफलता हो ।
राष्ट्र बचाउने हो भने परम्परागत शक्तिसहितको राजनीतिक एकता अपरिहार्य छ । सडकमा विद्रोह गर्ने पनि नेपाली तत्व नै हुन्, तिनीहरुलाई पनि गोलमेचमा थचार्नैपर्छ, सहमतिमा ल्याउनै पर्छ । दरवार हत्याकाण्डको छानबिन गर्छौं भनेर अव जनताले पत्याउँदैनन्, किनभने राजतन्त्रवादी दाहालको धम्कीबाट आजित भइसकेका छन् । अव दिल्लीबामले काम गर्दैन ।
किन रोकियो दरवार हत्याकाण्डको छानबिन ? प्रधानमन्त्री दाहाल र गृहमन्त्री निनिधको ढाडमा हाड छ भने विश्वप्रशिद्ध स्कटलेण्ड यार्ड बोलाएर छानबिन गराए हुन्छ । तर्साउने तरिका यथाबत राखेर सधैं जनताको मनमा चिसो पार्ने र सिण्डिकेटे सत्ताको तातो मण्डीमा घुस्रन सकिदैन । जनता चिसोमा सिउसिउ गरेर बाँचेका छन्, राष्ट्र विदेशी चलखेलबाट थिलथिलो बनेको छ । जनता र राष्ट्रप्रति गैरजिम्मेवार बनेर भागबण्डा लोकतन्त्रमा फिट गरिरहन सकिदैन । अव पूर्वराजाले बक्तव्यमात्र दिएर पुग्दैन, नेपालको संरक्षण, संवद्र्धन, स्वाधीनता र सार्वभौमिकताका लागि सडकमा निस्कनै पर्छ । अन्यथा नेपालमा विदेशीको बुठको आवाज, धर्ति र जनताको पीठबाट आउन थाल्नेछ ।
राजतन्त्र फर्कला वा नफर्कला, त्यो जनताको मर्जी । स्वच्छन्द र गैरजिम्मेवार राजनीतिक नेता र दलहरुलाई ठीक ठेगानमा आउन वाध्य पार्ने एकमात्र शक्तिले आँखा चिम्लेर बस्न मिल्दैन, देश मैनबत्ती पग्लेझैं पग्लेर दक्षिणतिर बग्दैछ, अहिले आँखा नखोले कहिले खोल्ने पूर्वराजा ?