
व्यवसायसँगै समाजसेवामा युवा नेतृत्वको अग्रसरता:
दैलेख, २०८३ कात्तिक २७ गते।
व्यवसाय गर्नुको उद्देश्य केवल आर्थिक नाफा आर्जन गर्नु मात्र होइन, आफूले आर्जन गरेको सीप, स्रोत, साधन र क्षमतालाई समाजको हितमा समेत उपयोग गर्नु हो भन्ने सामाजिक उत्तरदायित्वको सन्देशसहित कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलले दैलेखको आठबीस नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको दोस्रो संस्करण–२०८३ सम्पन्न गरेको छ। संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित उक्त अभियानबाट ६२१ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् भने अभियानलाई सफल बनाउन योगदान पुर्याउने १७ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।
कात्तिक १२ गतेदेखि १७ गतेसम्म आठबीस नगरपालिकाका वडा नं। १ देखि ६ सम्मका विभिन्न ग्रामीण तथा भौगोलिक रूपमा विकट बस्तीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरको कात्तिक २७ गते विशेष समारोहबीच औपचारिक समापन गरिएको हो।
ग्रामीण क्षेत्रमा सामान्य स्वास्थ्य परीक्षण तथा उपचार सेवासमेत सहज रूपमा प्राप्त गर्न नसकिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रोग पहिचान, स्वास्थ्य परामर्श, दन्तरोग परीक्षण तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। विशेषगरी आर्थिक अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्मको पहुँचमा रहेको कठिनाइलाई मध्यनजर गर्दै नागरिककै बस्तीमा पुगेर सेवा प्रदान गरिएको यस अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ।
व्यवसायबाट समाजसेवासम्म स् सामाजिक उत्तरदायित्वको व्यावहारिक उदाहरण
कृषि, पशुपालन तथा व्यावसायिक गतिविधिमार्फत आर्थिक उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्दै आएको कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यसंस्कृतिको अभिन्न हिस्सा बनाउँदै आएको छ।
फर्मका सञ्चालक निरज कुमार माझीको अगुवाइमा सुरु गरिएको यो अभियान कुनै औपचारिकता वा प्रचारमुखी कार्यक्रम मात्र नभई ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको सामाजिक पहल हो।
व्यवसायबाट आर्जित स्रोत, साधन र संस्थागत क्षमतालाई समाजको आवश्यकता सम्बोधन गर्न उपयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। विशेष कुरा त, कार्यक्रमका लागि विभिन्न व्यक्ति तथा संस्थासँग आर्थिक चन्दा संकलन नगरी संस्थागत पहल, सेवाभाव, स्वयंसेवकको सक्रियता र स्थानीय तहको समन्वयमा अभियान अघि बढाइएको थियो।
यसले निजी क्षेत्र तथा व्यावसायिक संस्थाहरूले पनि राज्यको विकास प्रयासमा सहयोगी भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा जिम्मेवार योगदान दिन सक्छन् भन्ने सन्देश दिएको छ।
स्वास्थ्य सेवाको पहुँचसँगै ग्रामीण स्वास्थ्य अवस्थाको पहिचान
शिविरमा स्वास्थ्य परीक्षण गरिएका नागरिकमध्ये उच्च रक्तचाप, मधुमेह, दम, छालासम्बन्धी संक्रमण, दन्तरोग तथा महिलामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू देखिएका थिए। यसले ग्रामीण समुदायमा नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान र स्वास्थ्य सचेतनाको आवश्यकता अझै रहेको देखाएको छ।
शिविरका क्रममा स्वास्थ्यकर्मी धर्म माझी र जीवन शाहीले प्रस्तुत गरेको स्वास्थ्य विवरणले ग्रामीण क्षेत्रका नागरिकमा नसर्ने रोग तथा अन्य सामान्य स्वास्थ्य समस्यासम्बन्धी सचेतना र नियमित परीक्षणको आवश्यकता औँल्याएको थियो।
विशेषगरी महिलाहरूले प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे खुलेर कुरा गर्न नसक्ने सामाजिक अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागी वक्ताहरूले जोड दिएका थिए।
जनप्रतिनिधि तथा सरोकारवालाद्वारा अभियानको प्रशंसा
समापन समारोहका प्रमुख अतिथि आठबीस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बढुवालले युवाहरूले व्यवसायसँगै सामाजिक सेवामा देखाएको सक्रियता सकारात्मक रहेको उल्लेख गर्दै यस्ता अभियानमा स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताए।
नगर उपप्रमुख कल्पना थापा चन्दले ग्रामीण नागरिक, विशेषगरी महिला तथा आर्थिक रूपमा कमजोर समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गरिन्।
पूर्वनगरप्रमुख खड्गराज उपाध्यायले सामाजिक रूपान्तरणमा युवाहरूको सिर्जनात्मक भूमिका महत्त्वपूर्ण हुने बताउँदै सेवामुखी अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। त्यसैगरी नेपाल मजदुर किसान पार्टीका नगर कमिटी अध्यक्ष जयबहादुर सिजापतिले सामाजिक सेवाका कामलाई राजनीतिक तथा व्यक्तिगत स्वार्थभन्दा माथि राखेर प्रोत्साहन गर्नुपर्ने बताए।
कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष बमबहादुर रावत, वडा नं। ६ का वडाध्यक्ष नमराज शर्मा, इलाका प्रहरी कार्यालय राकमका प्रमुख नारायण विष्टलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।
अभियानमा योगदान पुर्याउने १७ जना सम्मानित
स्वास्थ्य शिविरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार तथा सहयोगी संस्थासहित १७ जनालाई समापन समारोहमा सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो।
सम्मानित हुने स्वास्थ्यकर्मीहरूमा नेत्रबहादुर माझी, धर्मराज माझी, अर्जुन माझी, डम्बरबहादुर कठायत, मनबहादुर बडुवाल, जीवनकुमार शाही, हिक्मत बि।सी। र ओर्मिला बडुवाल रहेका छन्।
त्यस्तै स्वयंसेवकहरू सुनिता कुमारी माझी, सुरेन्द्र बुढा, विकास भण्डारी, गणेशबहादुर शाही, राजेन्द्र विश्वकर्मा र प्रवीण बयक तथा पत्रकार पुष्कर सिजापतीलाई सम्मान गरिएको थियो। सहयोगी संस्थाका रूपमा कर्णाली स्वास्थ्य क्लिनिक, राकम फार्मेसी र राकम कर्णाली डेन्टल केयर होमलाई समेत कदरपत्र प्रदान गरिएको थियो।
पहिलो संस्करणदेखि दोस्रो संस्करणसम्म स् सामाजिक अभियानको निरन्तरता
कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलले २०८२ सालमा पहिलो संस्करण सञ्चालन गरेसँगै सुरु भएको निःशुल्क स्वास्थ्य सेवा अभियानलाई २०८३ सालमा दोस्रो संस्करणका रूपमा थप विस्तार गरेको हो।
पहिलो संस्करणबाट प्राप्त अनुभव, स्थानीय आवश्यकता र समुदायको अपेक्षालाई आत्मसात् गर्दै दोस्रो संस्करणलाई थप व्यवस्थित रूपमा सञ्चालन गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमका सञ्चालक निरज कुमार माझीले समाजबाट प्राप्त साथ, सहयोग र सद्भावलाई समाजकै हितमा उपयोग गर्नु व्यावसायिक संस्थाको नैतिक जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, कृषि र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


