Advertisement Banner
Advertisement Banner

२२ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

रगतको कण–कणमा सार्वजनिक

२२ शनिबार , कार्तिक २०८३२ घण्टा अगाडि

रगतको कण–कणमा सार्वजनिक

जेनजी आन्दोलनको बलिदान, देशले भोगिरहेको पीडा र युवापुस्ताको देशप्रेमलाई समेटेर तयार पारिएको गीत ‘रगतको कण–कणमा’ सार्वजनिक भएको छ। विजय भट्टको सहभागिता रहेको उक्त गीतले देशप्रेम, राष्ट्रभक्ति र परिवर्तनको आवाजलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। बीजे एन्ड द रिबेल्सको प्रस्तुति रहेको गीतमा जेनजी पुस्ताको त्याग, बलिदान र देशप्रतिको जिम्मेवारीलाई मुख्य विषय बनाइएको छ। देशको वर्तमान अवस्था, युवाहरूको भावना र राष्ट्रप्रतिको समर्पणलाई भिडियोमार्फत उजागर गरिएको छ।

देशभक्तिपूर्ण स्लो रक शैलीमा तयार गरिएको गीतमा बीजे एन्ड द रिबेल्सकै स्वर, शब्द तथा संगीत रहेको छ। गीतले देशलाई माया गर्ने युवाहरूको भावना र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। गीतको भिडियोमा जेनजी आन्दोलनको बलिदान, देशको पीडा र युवापुस्ताले देखेको परिवर्तनको सपनालाई प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ। विशेषगरी टिकटक र फेसबुक रिल्समा भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ भने युट्युबमा पनि गीतलाई दर्शकले रुचाएका छन्।

गीतको भिडियोमा सुरेन बस्नेतले कोरियोग्राफी गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन्। विकास दाहालले भिडियोको सम्पादन तथा कलर गरेका छन्। सुमन बस्नेतको निर्देशनमा भिडियो तयार भएको हो। ‘जेनजी गीत २०२६’ का रूपमा सार्वजनिक गरिएको ‘रगतको कण–कणमा’ ले युवापुस्ताको देशप्रतिको माया, बलिदानको सम्मान र राष्ट्र निर्माणप्रतिको आकांक्षालाई सांगीतिक अभिव्यक्ति दिएको छ। देशभक्तिलाई रक संगीतको फरक प्रस्तुतिमार्फत दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको यस गीतले नयाँ पुस्ताको भावना र राष्ट्रप्रतिको समर्पणलाई जोड्ने अपेक्षा गरिएको छ।