चुनावमा जान ठूला तीनदलवीच मत मिल्यो तर चुनाव गर्न संसदको ढोकामा लागेको भोटे ताल्चा खोल्न सत्तापक्ष र विपक्ष दुबै तैयार छैनन् । चुनावको सर्त संविधान संशोधन मान्ने सरकार र संशोधन निलम्बन गरेर स्थानीय नभ्याइने, स्थानीय र प्रदेशको नामांकन, सिमांकन र कानुन नै नबनेको स्थितिमा संसदको निर्वाचनमा जाऊँ भन्ने एमालेको हठका कारण चुनावी वातावरण बिथोलिदै, धमिलिदै गएको छ ।
निर्वाचन आयुक्त अयोधी प्रसाद यादवका अनुसार आवश्यक कानुन र वातावरण नै बनेको छैन, अव स्थानीय तहको निर्वाचन गर्न भ्याइन्न । स्थानीइ तहको निर्वाचन नभई राष्ट्रियसभाको निर्वाचन हुनैसक्दैन । प्रदेशको चुनाव त झन टाढाको विषय हो भनिसके । राजनीतिक विश्लेषक र पार्टीका नेताहरु नै अव चुनाव हुन नसक्ने भो भनेर पिरोलिन थालेका छन् । यद्यपि प्रधानमन्त्री एमालेले संसद अवरोध हटाएर संसदीय प्रक्रियाबाट हल खोज्न तैयार हुने हो भने वैशाखमा स्थानीय तहको चुनाव गराउँछु भनेर मच्ची मच्ची चिच्याइरहेका छन् । एमाले मर्न तैयार छौं, रगत बगाउन परे बगाउँछों, संविधान संशोधन प्रस्ताव निलम्बन वा फिर्ता नगरी संसद चल्न दिइदैन भन्ने अड्डी कसेर बसेको छ ।
स्थिति बिस्फोटक बनिसक्यो । ठूला दलहरुको हठ र शठ अडानका कारण बारुदमाथि उभिएको संविधान र संघीयता एकै चिहान हुने अवस्था विकसित हुँदै गएको छ ।
हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने नेपाली राजनीतिक क्षेत्रको पुरानै रोग हो । यही रोगका कारण केही समयका लागि सत्तामा पुगेका नेताले आन्तरिक र बाह्य क्षेत्रमा समेत गल्ती गरिरहन्छन् र लामो समयसम्म मुलुक र मुलुकवासीले त्यसको महगो मूल्य चुकाउनु परिरहेका अनेक दृष्टान्त छन् ।
संविधान जारी भयो, कागजको खोस्टो बनेर रहेको छ । संघीयतामा जाने भनियो, सहमति हुनै सकेको छैन । सबै जातजाति र भाषाभाषी, भेग र क्षेत्रलाई उचालेर राजनीति गर्नाले, विदेशीले समेत यही चरमा हात हालेर नेपाली समुदायलाई उचाल पछार गर्नाले नेपाली राष्ट्रिय एकता नराम्ररी धमिलिइसकेको छ । यसलाई सम्हाल्ने एकजना पनि राजनेता नभएकाले नेपाल ठूलै दुर्घटना हुने राजनीतिक भीरमा पुगिसकेको छ, खुरमुरिनमात्र बाँकी छ ।
स्वार्थका लम्पट नेताहरुका कारण नयाँ नेपाल बनाउने सपना चकनाचूर हुनपुगेको हो । सबै नेतालाई सत्ता, शक्ति र सम्पत्ति चाहिएको छ । जनताको आँखामा भ्रम छर्दै, राष्ट्रिय लूट मच्चाउन कुनै पनि नेता पछि परेको देखिदैन । आमनागरिक र राष्ट्र कूशासनको चक्रव्यूहमा फस्दै र पिसिदै गएका छन्, पार्टी नेताबर्ग झन झन सुकिला, मुकिला, पोटिला देखिदै जानुले लोकतन्त्र लूटतन्त्र र संघीयता भाँडतन्त्रमा रुपान्तरण हुनपुगेको छ । चिन्ता र चासो कसैले लिएको देखिदैन । जसका कारण स्थायी सरकारका रुपमा रहेको प्रशासनयन्त्रसमेत अनियमितता र भ्रष्टाचारमा लिप्त हुनपुगेको छ ।
मौका छ, बाधा छ भने नेताबर्गको सोचमा मात्र छ । त्यो सोचलाई बदल्ने हो भने संविधान र संघीयताका कमी कमजोरी सुधार्न सकिन्छ । राष्ट्रलाई लोकतान्त्रिक लिकमा चलाउन सकिन्छ । अहिलेसम्म जनताले हस्तक्षेप गरिसकेका छैनन् । तेस्रो जनआन्दोलनको ज्वारभाटा जनसहनशीलताको भित्रभित्रै बिस्फोटन उन्मुख उवाल हुँदै गएको अनुभूत गर्न सकिन्छ । कतै नेताहरुको यही निरंकूश र भागबण्डातन्त्रबाट आजित भएर जनता सडकमा निस्किए भने वर्तमान राजनीतिले यू टर्न लिनसक्ने विश्लेषण सार्वजनिक हुनथालिसकेको छ ।
संविधान र संघीयता दुर्घटनाग्रस्त भइसक्यो, सबै पार्टीका, समाजका, चेतनशील बर्ग नेतृत्वले नेपाल बचाउन र नेपाललाई सुस्थिर बनाउनतिर सोचिहालौं, पूर्वाग्रह फालौं, अकल्पनीय क्षति रोक्न सकिन्छ ।