Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक

०१ शनिबार , कार्तिक २०८३९ घण्टा अगाडि

अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक मिलियन अर्थात् १० लाख भ्युज पार गर्न सफल भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको उल्लेख्य साथ पाएको हो।

गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ भने शब्द तथा संगीत सुरेश अधिकारीको छ। प्रेमभाव झल्काउने गीतमा अभिनेत्री रेखा थापा र अभिनेता महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडी देख्न सकिन्छ।

गीतले एक मिलियन भ्युज पार गरेपछि अभिनेत्री थापाले दर्शक, शुभेच्छुक तथा गीतलाई माया गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। छोटो समयमै प्राप्त माया र साथले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ।

‘सम्झिँदा तिमीलाई ढुकढुकी रोकिन्छ छिनछिन, होसै छैन केही पनि रातै हो कि दिन’ जस्ता प्रेमिल शब्द समेटिएको गीतले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने अपेक्षा गरिएको छ। गीतको सफलताले फिल्मको प्रचारमा समेत थप ऊर्जा दिएको छ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, महेश त्रिपाठी, पूजा शर्मा, पुष्प खड्का र निरुता सिंहलगायत कलाकार मुख्य भूमिकामा छन्।

पारिवारिक कथावस्तुमा आधारित फिल्मले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसबाट उत्पन्न परिस्थितिलाई पर्दामा प्रस्तुत गर्नेछ। फरक पुस्ताका चर्चित कलाकारहरूको सहभागिताले पनि फिल्मलाई चासोको विषय बनाएको छ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्मकी अभिनेत्री तथा निर्मातासमेत हुन्। फिल्म आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। गीतले पाएको प्रारम्भिक सफलताले फिल्मको प्रदर्शनप्रति दर्शकको अपेक्षा थप बढाएको देखिन्छ।