Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रहरी महानिरीक्षकको आतिथ्यतामा विशेष योग शिविर

१९ सोमबार , आश्विन २०८३१० घण्टा अगाडि

प्रहरी महानिरीक्षकको आतिथ्यतामा विशेष योग शिविर

काठमाडौं, १९ असोज । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतंजली योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय विशेष योग शिविर, २०८३ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न भएको छ ।  
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतंजली योगपीठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रहरीको जीवन आमनागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो । 
    सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई पतंजली आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । 
पतंजली योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।  
    कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पतंजली योगपीठ नेपालका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।