Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रहरी समाचार

०८ बिहिबार , आश्विन २०८३एक घण्टा अगाडि

प्रहरी समाचार

२९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
काठमाडौं, ७ असोज । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ४० औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 
उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील र सुरक्षित भई तालिममा प्राप्त ज्ञान र सीपको विवेकपूर्ण ढंगले प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूबाट विपद् उद्दार अभ्यास सम्बन्धी विभिन्न कलाहरू समेत प्रस्तुत गरिएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं, ७ असोज । सुनसरी, इनरूवा नगरपालिका ३ सहमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका ५ बस्ने २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका ३ शिवचोकबाट अवैध लागूऔषध गाँजा २४ ग्राम ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ४ ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेट सहित सोही गाउँपालिका २ अखाह बजार बस्ने २८ वर्षीय हजरत अलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    कपिलवस्तु, वाणगंगा नगरपालिका ११ वरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने ३१ वर्षीय जनक गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, गोदावरी नगरपालिका १ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका ७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कैलाली, ७ असोज । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय सुनिल कठरियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, ७ असोज  
    धनुषा, जनकपुरधाम उपमहानगरपालिका १० स्थित अरगज्जा पोखरीको डिलमा रहेको चौतारा मुनि हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । 
    भक्तपुर, सूर्यविनायक नगरपालिका २ बालकोट बृहस्पती मार्ग नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भएका ४५ वर्षीय नानिराम खत्री आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 
    दाङ, लमही नगरपालिका ९ स्याले बस्ने ६० वर्षीय विर बहादुर कुमाल सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा  फेला परेका छन् । 
    ‍काभ्रे, धुलिखेल नगरपालिका ११ डाँडा गाउँ बस्ने ४५ वर्षीय गणेश तामाङ सोही ठाउँस्थित पाखोबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 
    कैलाली, टीकापुर नगरपालिका २ मुलपानीस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।