
आधुनिकतासँगै मौलिक ठाडा संस्कृति लोप हुने अवस्थामा------
रतन बहादुर रावल मुगु, १६ भदौ कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा पुराना पुस्ताले निर्माण गरेका ऐतिहासिक तथा परम्परागत घरहरू पछिल्लो समय तीव्र रूपमा लोप हुँदै गएका छन्। एकअर्कासँग जोडिएर बनेका माटो, काठ र ढुङ्गाका यी रैथाने घरहरू आधुनिकताको बढ्दो प्रभाव र नयाँ पुस्ताको बदलिँदो रोजाइका कारण संकटमा परेका हुन्।कर्णालीको खस भाषामा ठाडा भनिने यी घरहरूको आफ्नै विशिष्ट वास्तुकला र सांस्कृतिक पहिचान छ। एक घरबाट अर्को घरको सिमाना छुट्याउनका निम्ति काठको पाडु (बार) हालेर बनाइएका यी सम्म परेका छतहरू -ठाडाहरू- निकै आकर्षक देखिन्छन्। स्थानीय बासिन्दाहरूले आफ्नो छतमा अन्नबाली, विशेषगरी हिमाली क्षेत्रमा फल्ने गहुँ, जौ, कोदो र फापर सुकाउनका निम्ति यी ठाडाहरूमा पाड हाल्ने परम्परा रहिआएको पुराना पुस्ताका स्थानीय बासी मानबहादुर रावल ले भन्नुभयो छ।
एक ठाउँबाट लहरै जोडिएका यी घरहरूले सिङ्गो गाउँकै एकता र सामूहिकता झल्काउने गर्दथे।तर, पछिल्लो समय पुराना घरहरू भत्किँदै जाँदा र नयाँ पुस्ताले परम्परागत प्रविधिलाई छाड्दै जाँदा गाउँघरको रूप फेरिन थालेको छ। अचेल पुराना माटोका छानाको सट्टा नयाँ पुस्ताले टिनका छाना (जस्तापाता) लस्करै हाल्न थालेका छन्। जसका कारण पुराना र कलात्मक घरहरू अचेल प्रायः कमै देखिन थालेका छन्।मुगु मात्र नभई कर्णाली प्रदेशका कैयौं हिमाली तथा पहाडी जिल्लाहरूमा विगतमा यस्ता माटोले बनेका घरहरू प्रशस्त देखिन्थे। स्थानीय स्रोत-साधनको प्रयोग गरी अनुकूल मौसम अनुसार ९जाडोमा न्यायो र गर्मीमा चिसो- हुने गरी बनाइएका यी घरहरू कर्णालीको प्राचीन खस सभ्यता र जीवनशैलीसँग जोडिएका छन्।परम्परागत इन्जिनियरिङ र पहिचान बोकेका यी ठाडा घरहरूको संरक्षणमा बेलैमा ध्यान नदिने हो भने कर्णालीको मौलिक वास्तुकला इतिहासको पानामा मात्र सीमित हुने देखिन्छ।


