
अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरूङ्गा नगरपालिका ६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, बलान बिहुल गाउँपालिका १ घर भएका २० वर्षीय निकेश यादव र सिराहा लहान नगरपालिका १५ घर भएका २३ वर्षीय सुशान्त चौधरी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २ असोज । लागूऔषध मुद्दाका फरार प्रतिवादी मकवानपुर बागमती गाउँपालिका ९ घर भएकी २७ वर्षीया बेली कुमारी घिसिङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेकी उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका १२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
भरूवा बन्दुक बरामद
काठमाडौं, २ असोज । डोटी, सायल गाउँपालिका ५ स्थित बुङ्गा ओखलधार सार्वजनिक गौचरण जंगल जाने बाटो छेउबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी डौडबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
अछाम, मेल्लेख गाउँपालिका ६ झाडीगाउँस्थित बिलेद खोला छेउको ओढारबाट भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मेल्लेखबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
प्युठान, नौबहिनी गाउँपालिका ५ पातला खोलास्थित गुफारानी सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी डामृबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


