Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्रहरी कृयाकलाप

१९ शुक्रबार , भाद्र २०८३४ घण्टा अगाडि

प्रहरी कृयाकलाप

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रति थप संवेदनशील हुँदै नेपाल प्रहरी
काठमाडौं, १८ भदौ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । 
प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध कुनै पनि किसिमका अप्रिय घटनाहरू हुन नदिन रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ । 
पछिल्लो तथ्याङ्क अनुसार रसुवाको होल्डिङ सेन्टरमा महिला ६० जना, बालक ३७ जना र बालिका ३९ जना गरी जम्मा १ सय ३६ जना रहेका छन् । धादिङमा महिला १ सय २६ जना, बालक २४ जना र बालिका ३२ जना गरी १ सय ८२ जना रहेका छन् भने नुवाकोटमा महिला ९ सय २९ जना, बालक १ सय ९५ जना र बालिका १ सय ६८ जना गरी जम्मा १ हजार २ सय ९२ जना रहेका छन् । यसैगरी काठमाडौंको होल्डिङ सेन्टरमा महिला १ सय ९ जना, बालक ५३ जना र बालिका ४९ जना गरी जम्मा २ सय ११ जना रहेका छन् ।  
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध नियन्त्रणमा प्रहरी संवेदनशील भई कार्य गरिरहेको छ । होल्डिङ सेन्टरमा महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालित छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित देखा परेका समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् ।’  
बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टरमा नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।    

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, १८ भदौ । धनकुटा, साँगुरीगढी गाँउपालिका ६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ७३ ग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ४ ज्यामिरे बस्ने ४४ वर्षीय भिम बहादुर लिम्बु, २३ वर्षीय बीर बहादुर लिम्बु र सोही गाउँपालिका(४ फाक्सिब बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बर र प्र १ ०२ ५८ प ६०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित  फेला पारी पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका ५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
तनहुँ, बन्दीपुर गाउँपालिका ४ ठुलोढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १७ किलो १ सय ५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका(१ बस्ने २७ वर्षीय आकाश तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका १ बस्ने ३२ वर्षीय रुपेश पटुवा, कास्की पोखरा महानगरपालिका २७ वागमारा बस्ने २३ वर्षीय सुशिल पोखरेल र ३२ वर्षीय कृष्ण भुसाल रहेका छन् । इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले ध १ ज २८४ नम्बरको ट्याक्सीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । 
बाँके, कोहलपुर नगरपालिका ११ पुरानो बसपार्कको उत्तर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका ८ बस्ने २७ वर्षीय अर्जुन थारू समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे २ प ४४८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।