Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

१८ बिहिबार , भाद्र २०८३४ घण्टा अगाडि

क्लिन अप नेपालको १३औँ साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड

२ सेप्टेम्बर २०२६। वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गर्दै साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, साझेदार संस्था तथा संस्थाका कर्मचारीसहित करिब ४० जनाको सहभागिता रहेको थियो । विभिन्न सरोकारवाला निकायको उपस्थितिले संस्थाका कार्यक्रम तथा गतिविधिमा बहुपक्षीय सहकार्य र जवाफदेहिताको महत्वलाई समेत प्रतिबिम्बित गरेको थियो ।

 क्लिन अप नेपालका अध्यक्ष अमोद कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका उपसचिव सुरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाकी सचिव प्रार्थना न्यौपानेले गर्नुभएको थियो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समग्र समीक्षा गरेको थियो । समीक्षा क्रममा संस्थाको प्रगति, प्रमुख उपलब्धि, वित्तीय अवस्था, कार्यान्वयनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो । यसले संस्थाका गतिविधिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजान आवश्यक विषय पहिचान गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ । कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमरन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका प्रमुख कार्यक्रम, उपलब्धि, संस्थागत विकास, साझेदारी तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, सामाजिक प्रभाव तथा सरोकारवालाप्रतिको जवाफदेहिताका विषयमा जानकारी गराउनुभएको थियो । साधारणसभामा प्रतिवेदन प्रस्तुतिका साथै सदस्य तथा सरोकारवालाहरूबीच संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा छलफलसमेत भएको थियो । 

आर्थिक तथा वित्तीय पक्षको लेखापरीक्षण, संस्थागत प्रगति प्रतिवेदन र सामाजिक परीक्षणलाई साधारणसभाको प्रक्रियामा समेटिनुले क्लिन अप नेपालले आफ्नो संस्थागत सुशासन र जवाफदेहितालाई महत्व दिँदै आएको सन्देश दिएको छ । कार्यक्रममा शुभेच्छुक तथा साझेदार संस्थाहरूको तर्फबाट गैरसरकारी संस्था महासंघकी महासचिव देवी खड्का, ICIMOD की Intervention Manager Erica Udas, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरी तथा Community Information Network (CIN) का पत्रकार लिलप्रकाश चन्दले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले क्लिन अप नेपालले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले स्थानीय सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, समुदाय तथा अन्य सरोकारवालाबीचको सहकार्यलाई थप सुदृढ गर्दै वातावरणीय चुनौती समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । 

साधारणसभाका अवसरमा क्लिन अप नेपालले संस्थाका कार्यक्रम तथा गतिविधिमा निरन्तर सहयोग, सहकार्य र योगदान पुर्याउँदै आएका विशिष्ट अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेको थियो । उक्त सम्मान संस्थाले आफ्ना साझेदार तथा सरोकारवालासँगको सहकार्यलाई महत्व दिएको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो । क्लिन अप नेपालले साधारणसभामार्फत संस्थागत पारदर्शिता, वित्तीय अनुशासन, जवाफदेहिता, जिम्मेवारी तथा उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका अनुसार वार्षिक साधारणसभा केवल औपचारिक प्रक्रिया नभई संस्थाको विगतको कार्यसम्पादनको समीक्षा, सरोकारवालाप्रति जवाफदेहिता प्रदर्शन तथा आगामी कार्यदिशा स्पष्ट गर्ने महत्वपूर्ण संस्थागत मञ्च हो । संस्थाले वातावरणीय संरक्षण, दिगो फोहोरमैला व्यवस्थापन र उत्थानशील समुदाय निर्माणका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र, समुदाय, स्वयंसेवक तथा नागरिक समाजसँगको सहकार्यलाई अझ विस्तार गर्ने क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले जनाउनुभएको छ । साधारणसभाको समापनमा क्लिन अप नेपालले संस्थाप्रति निरन्तर विश्वास, सहयोग र सहकार्य प्रदान गर्ने साधारण सदस्य, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार तथा सहयोगी संस्था, निजी क्षेत्र, साझेदार संस्था, समुदाय, स्वयंसेवक र कर्मचारीप्रति आभार व्यक्त गरेको छ। 

संस्थाले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित संस्थागत अभ्यासलाई सुदृढ गर्दै स्वच्छ, स्वस्थ तथा उत्थानशील समुदाय निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ । क्लिन अप नेपालले हरित तथा दिगो नेपाल निर्माणका लागि विभिन्न सरोकारवालाबीच थप प्रभावकारी सहकार्यको आवश्यकता रहेकोमा जोड दिएको छ ।