मधेसले अधिकार पाएन, विभेद जारी रहे मधेस अलग देश पनि बन्नसक्छ। राष्ट्रपतिकै सामुन्ने तमलोपाका अध्यक्ष महन्थ ठाकुरले यसरी चेतावनी दिदा राष्ट्रपति र प्रधानमन्त्री ट्वाल्ल परेर सुनेर बसे। मानों उनीहरुले नै यसो भन्न लगाएका हुन्। यद्यपि महन्थ ठाकुर कांग्रेस छाडेदेखि नै मधेस अलग राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन्। उनले पटक पटक एक मधेस हुन्न भने एक नेपाल पनि रहन्न भन्दै आएका छन्।
अव त प्रधानमन्त्री र राष्ट्रपतिकै सामुन्ने नश्लवादी सोच त्याग गर, मधेसी अव यो सत्तासँग रहेन, अव मधेस पनि नरहनसक्छ, मधेस अलग देश पनि हुनसक्छ भनिदिएका छन्।यसरी सडक, संसददेखि शीतल निवाससम्म बिखण्डनको आवाज घन्किन थालिसक्दा पनि प्रधानमन्त्री र राष्ट्रपतिले त्यसको उपचार खोज्न छाडेर नेताहरुवीचको झगडा हेरेर बस्नु कुन सक्षमता हो?
र, राष्ट्रपतिले यति डरलाग्दो परिदृश्य देखिसकेपछि राजनीतिक दलहरुलाइृ मिलेर अघि बढ्नोस्मात्र भनेर पुग्छ कि बिखण्डनको आहट रोक्ने कुनै विशेष बहस र उपचारको खोजी पनि गर्नुपर्छ। राष्ट्रपतिको काम तीजको नाचगान हेरेर बस्नुमात्र होइन। देशको अभिभावक बनेपछि अभिभावकत्वको निर्वाह कसरी गर्ने भन्नेतिर सोच्नुपर्ने हो। तर, छलफलका नाममा देशै बिखण्डनको कुरा सुनेर बस्नु सुहाउन कि राष्ट्रपतिजी?