Advertisement Banner
Advertisement Banner

०६ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव

०५ शुक्रबार , भाद्र २०८३२१ घण्टा अगाडि

नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव

काठमाडौं, ४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्ष भरी गरेका सामाजिक मानव कल्याणकारी एवम् परोपकारी कार्यहरूका साथै अन्य विविध समसामायिक विषयहरूमा आधारित लेख रचनाहरू समेटेर प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८३” को विमोचन समेत गर्नुभयो । 
उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात् गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने समाजसेवी एवम् प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, प्क्ष्ल् क्ष्ल्म्क्ष्ब् का निर्देशक नविन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री बादीले बद्लिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई  निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व, सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो । नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने सिलसिलामा उहाँहरूको परिवारले देखाएको धैर्यता, साहस, मौनता र त्याग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवा मार्फत शक्तिमा रूपान्तरण गर्नु यस संघको महत्वपूर्ण विशेषता रहेको उहाँले बताउनुभयो । संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन, पारदर्शीता र सेवाको प्रभावकारीतालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक, कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा संघले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गर्दै प्रहरी परिवारको हितका साथै समाजमा विद्यमान कुसंस्कार, विकृती र विसंगतीको अन्त्य र सामाजिक सुधार तथा महिला सशक्तिकरणका क्षेत्रमा संघले पहलकदमी लिनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र एक्यबद्धताको अनुभूती गराएको उहाँले बताउनुभयो । प्रहरी परिवारका सन्ततीको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व बिकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो । आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर समर्पित हुँदै समाज र प्रहरी परिवार बीचको मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । 
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई कदरपत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवम् उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   
समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको बताउनुभयो । संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै  सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  
नेपाल प्रहरी श्रीमती संघकी सचिव वरूणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघले स्थापना कालदेखि हाल सम्म गर्दै आएका सामाजिक मानविय तथा लोककल्याणकारी गतिविधिहरूका साथै संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 
समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।

उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
काठमाडौं, ४ भदौ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदायस्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । 
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
प्रहरी महानिरीक्षक कार्कीले विपद् तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरोकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले समयसापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।  
प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । आ(आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखि शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी बहन गर्नुपर्ने उहाँले बताउनुभयो ।  
प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्‍लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीहरूको सुविधालाई ध्यान दिँदै कार्यालयको भौतिक संरचनाको उचित व्यवस्थापन, कार्यालय परिसरको नियमित सरसफाई तथा सवारी साधनहरूको उचित मर्मत संभारमा समेत विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो । 
    कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।