Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

युवराज भण्डारीको 'आफन्त र आँसु'सँग साक्षात्कार गर्दा

३१ आइतबार , श्रावण २०८३२ घण्टा अगाडि

युवराज भण्डारीको 'आफन्त र आँसु'सँग साक्षात्कार गर्दा

आजभन्दा करिब ३५ वर्ष पहिले २०४८ माघ १० गते पिता भिउसीन भण्डारी र माता ठइकुमारी भण्डारीको कोखबाट नौबहिनी गाउँपालिका- ८, प्युठानमा जन्मिएका युवराज भण्डारी एक सक्रिय साहित्यकार हुन् । यस अघि नै २ वटा एकल कृति प्रकाशित गर्न सफल भण्डारीको 'आफन्त र आँसु' उपन्यास तेस्रो कृति बन्नपुगेको छ । 
प्रस्तुत उपन्यास 'आफन्त र आँसु'मा कभर पृष्ठबाहेक कुल ९६ पृष्ठ रहेका छन् भने जसमध्ये केवल ८६ पृष्ठभित्र उपन्यासको कथा बुनिएको छ ।

फ्रन्ट कभर पेजमा शीर्षक, बिचमा तीन जना महिला भिन्दाभिन्दै मुद्रामा र एउटा पुरुषको तस्बिर रहेको छ । सबैभन्दा तल लेखकको नाम आकर्षक ढङ्गले लेखिएको छ भने ब्याक कभर पेजमा लेखकको परिचय साथै उपन्यासभित्रको सटिक गहन शब्दहरू र फ्रन्ट कभर फोटो रहेको छ । 
'आफन्त र आँसु' मानसिक शान्ति र आत्मबलका लागि जीवन दर्शनसम्बद्ध विषयवस्तुमा लेखिएको एक सशक्त, कारुणिक उपन्यास हो । व्यक्तिलाई जीवनको दर्शनसँग एकाकार गराउनु नै उपन्यासको सार हो ।

यस कृतिको लोकार्पण वि.स. २०८३/०४/२४ गते लुम्बिनी प्रदेशको राजधानी अवस्थित दाङ जिल्लाको राप्ती गा.पा.मा अवस्थित भृकुटी महिला विकास वचत तथा ऋण सहकारी संस्थाको हलमा भएको थियोे । भृकुटी महिला विकास सहकारी संस्था आयोजनक र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च प्रायोजक रहेको थियो।

यस पुस्तकभित्र प्रवेश गर्नुपूर्व यसको लोकार्पणको परिवेशलाई थोरै भए पनि उल्लेख गर्न चाहान्छु । यो भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले जसरी यस उपन्यासकै माध्यमबाट साहित्यिक यात्रामा पाइला टेकेको छ । यो अत्यन्तै सान्दर्भिक लाग्यो । सयौँको सङ्ख्यामा महिलाहरूको उपस्थिति, महिलाद्वारा नै कार्यक्रम उद्घोषण, सभाध्यक्ष र समीक्षक लगायत प्रमुख अथिति पनि महिला नै हुनुले कार्यक्रमको ओझ बढाएको । यसले के देखाएको छ भने महिला पुरुषको तुलनामा कत्ति पनि कम छैनन् । पुरुषप्रधान समाजले महिलामाथि गरेका अन्याय, अत्याचारको विरुद्धमा महिलाहरू जुर्मुराउँदै छन् ।

यद्यपि यस कृति समीक्षा तीन जनाले गरेका थिए । जेहोस् कार्यक्रम राम्रो भयो । महिलाहरू भित्रभित्रै कुण्ठित भएको बेला, देश विदेशमा महिलाहरूले नारकीय जीवन व्यतित गरिरहेकोबेला, तीज पर्वको संघारमा यो कृति आएको छ । जसले महिलाहरूलाई नयाँ सोचले नयाँ ढङ्गले उर्जा थप्ने काम गरेको छ ।

पुस्तक महिलाद्वारा सुनाएको वियोगान्त कथावस्तुमा आधारित छ । त्यसैले यो महिलाको लागि उपयोगी हुनसक्छ भन्ने अनुमान गरिए पनि यो पुस्तक महिला र पुरुष दुवैको लागि उत्तिकै उपयोगी भएको मेरो ठम्याई छ ।

परिवारभित्र कसरी मानसिक रोग पैदा हुन्छ र डिभोर्स सम्मको अवस्था सृजना हुन्छ र अझै झ्यागिँदै जान्छ । न कसले यो रोगलाई रोक्नका लागि कुनै उपाय नै अवलम्बन गरेका हुन्छन् । यस्तै विषयवस्तु आधारित यो उपन्यासले कतै ज्ञान दिएको छ त कतै पीडाले हृदय छोएको छ, भावुक गराएको छ ।

यसमा लेखक आफू पुरुष भए पनि महिलाभित्र पसेर उनीहरूभित्रको पीडा, उनीहरूको मर्मलाई समाजमा डोराउन सफल देखिन्छन् । त्यतिमात्र होइन समाजलाई सचेत बन्न नवीनतम् सन्देशसँगै झकझकाएका छन् ।

यसमा म पात्र, जसले आफैँ प्रेमको मूल्य चिन्न नसकेको पछुतो मानी आफ्नै प्रेमिकाको कथा लेख्न हिँडेका छन् । उनी हिँड्दा हिँड्दै सुदुरपश्चिमको एउटा चिया बगानमा पुग्छन् । त्यहाँ उनले चिया बगानमा काम गर्दै गरेका केही महिलाहरूको बिचमा एउटी यस्ती पात्र भेटाउँंछन् जसले उनलाई उसको बारेमा बुझ्नलायक बनाइदिन्छ ।

यहीँबाट सुरु हुन्छ उपन्यासको कथा उनी सुनाउँदै जान्छिन् आफ्नै बारेमा । लेखकले यहा अर्कै महिला पात्र खडा गरेर समाजमा महिलाको वर्तमान अवस्थामा दर्शाउछन् । उनीहरू निर्दोष हुँदाहुँदै पनि कसरी दोषी ठहर हुन्छन् ?
पुरानो पुस्ता र नया पुस्ताको बिचमा भएको वास्तविक समस्या एकले अर्काको मर्म बुझ्न नसक्दा जन्मिएको झिनामसिना रोगहरू भित्रभित्रै गुम्सिदा भयानक बन्न पुग्छन् । जब त्यो रोग मात्रात्मक अवस्थाबाट गुणमा प्रवेश गर्छ, त्यसलै आफ्नै घनिष्ठ मानिनेहरू द्वारा नै त्यो फैलिन्छ । हाँस्दो खेल्दो सुन्दर परिवारमा दरार पैदा हुनसक्छ ।

यसलाई लेखकले अत्यन्तै सतहमा पुगेर गहन विचारद्वारा समाजलाई सन्देश दिने प्रयास भएको छ । एउटी सानी छोरी जब बाआमा छुट्टिन थालेका हुन्छन्, त्यतिबेला बच्चामा के बित्छ ?आमाको काखबाट चिच्याएर छोरीले 'बाबा भोक लाग्यो' भन्छे । त्यो शब्दले धेरैका आँखामा आँसु र मन मष्तिकलाई झकझकाइदिन्छ।

त्यो बेला सामान्य जस्तो लाग्छ किनकि त्यो अबोध बालिकालाई के थाहा के भइरहेको छ ? तर त्यो पछि ठूली भएपछि उसले पनि यसबारेमा बुझ्ने छे । न बाको दोष, न आमाको, न छोरीको तर छोरीलाई बा आमाको स्नेहको आवश्याकता नभइनहुने अवस्थामा उनिहरू छुट्टिएका छन् । त्यो बालिकालाई उसको अधिकारबाट वञ्चित गरेका छन् । यस्तो दु:खको घडीमा पनि आफन्तिहरू उनीहरूलाई छुट्टाउन लागिपरेका हुन्छन् । कहिले सम्पत्तिकोलागि लडेका हुन्छन् । यस्तो घडीमा म पात्र चुप लाग्न सक्दैनन्, उनले आफूलाई केही पनि चाहिँदैन भनेर एउटा सकारत्मक सन्देश दिएकी छन् । आजको यो पुँजीवादी समाजमा उनले धन सम्पत्तीभन्दा परिवारको संझना बोकेर जान्छिन् ।
यहाँ अत्यन्तै मार्मिक क्षण पैदा भएको छ तर आफन्तिहरू लाखपाखा लागिसकेका छन् । एउटी चेली घरबाट माइत फर्किदा पनि उनीहरू खुसी छैनन् । जसरी भए पनि उसलाई कतै बिहे गराइदिने प्रयासमा हुन्छन् ।
वास्तवमा माइत पनि बाआमा छँदासम्म पनि हुँदैन बरु बाआमाले घरको नेतृत्व समाल्दासम्म छोरी माइतमा बस्नसक्ने वातावरण हुनसक्छ तर त्यसपछि बाबा आमापनि आँसु बगाउने सिवाय केही गर्न सक्दैनन् । लाचार र असहाय हुनेरहेछन् भन्ने उनीहरूको व्यवहारले प्रष्ट पारेको छ ।

सासू, ससुरा, स्वामी, नन्द, आमाजू, दाइभाइ, बुहारी, भाउजू लगायतका सहायक पात्रहरू छन् र दुवैजनाकी एउटी छोरी पनि छन् । मुख्य पात्र महिला, उनको श्रीमान, सासू आमा र स्वयम् लेखक नै हुन् । लेखकले आफ्नो लेखकीयमा पुस्तकको बारेमा आफैँले प्रष्ट पारेका छन् ।

उपन्यास राम्रो र सन्देशमुलक छ ।पठनीय र सङ्ग्रहणीय पनि छ । अन्तिममा लेखकले पछि सवालजवाफमा केही झिनामसिना त्रुटी पनि गरेका छन् । कति महिलाले बोल्दा उनी र उसले भनेका शब्दहरू पनि भेटिन्छन् । सवालजवाफ गर्दा लेखकद्वारा कथालाई अलिक लम्बाउने प्रयास गरेको जस्तो देखिन्छ। तर पनि उपन्यास अत्यन्तै राम्रो, पठनीय छ ।सामान्य टेक्निकल कमिकमजोरीका बावजुद पुस्तक पारिवारसँगै बसेर अध्ययन गर्न सकिने रहेको छ ।