
धरान, आषाढ ३२। अग्रवाल समाजकी कुलमाता, प्रथम पितृदेवी तथा महाराजा अग्रसेनजी महाराजकी अर्धांगिनी महारानी माधवीजीको ५१४७औँ जन्मजयन्ती बिहीबार, आषाढ शुक्ल द्वितीयाको पावन अवसरमा धरान–१२ स्थित अग्रसेन स्मृति भवन मा श्रद्धा, भक्ति तथा सांस्कृतिक उल्लासका साथ भव्य रूपमा मनाइएको छ।
नेपाल अग्रवाल सभा, धरान तथा नेपाल अग्रवाल महिला मञ्च, धरान को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अग्रकुलमाता महारानी माधवीजीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको त्याग, मातृत्व, करुणा, सेवा, धर्मनिष्ठा तथा पारिवारिक संस्कार निर्माणमा रहेको अतुलनीय योगदान स्मरण गरिएको थियो। वक्ताहरूले महारानी माधवीजीलाई अग्रवाल समाजकी कुलमाता मात्र नभई आदर्श नारीत्व, मातृशक्ति, पारिवारिक एकता र संस्कारमय जीवनको अनुपम प्रतीक का रूपमा व्याख्या गर्दै उहाँका आदर्शहरू आजको समाजका लागि पनि उत्तिकै प्रेरणादायी र सान्दर्भिक रहेको उल्लेख गरे।
कार्यक्रममा महिला दिदीबहिनीहरूले सामूहिक रूपमा आद्यदेवी महालक्ष्मी चालीसा पाठ गरी भक्तिमय वातावरण सिर्जना गरेका थिए। त्यसपछि माता माधवीजीका भजन, मारवाड़ी सांस्कृतिक गीत तथा पारम्परिक भेषभूषामा सुसज्जित महिला एवं बालबालिकाहरूको आकर्षक सांस्कृतिक नृत्यले सम्पूर्ण सभाहललाई आध्यात्मिक एवं सांस्कृतिक उल्लासले भरिपूर्ण बनाएको थियो।
यस अवसरमा बालप्रतिभाहरूले ुमाता माधवीजीको जीवन, व्यक्तित्व र आदर्शु विषयमा प्रभावशाली वक्तृत्वकला प्रस्तुत गर्नुका साथै श्रीमद्भागवत गीता का संस्कृत श्लोकहरूको शुद्ध, सस्वर एवं भावपूर्ण पाठ गरी उपस्थित श्रद्धालुहरूको मन जितेका थिए। उत्कृष्ट प्रस्तुति दिने सम्पूर्ण बालप्रतिभाहरूलाई पुरस्कार प्रदान गर्दै सम्मान तथा उत्साहवर्धन गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण विशेष महाआरती रह्यो, जसमा उपस्थित सम्पूर्ण अग्रबन्धुहरूले सामूहिक रूपमा सहभागिता जनाएका थिए। महाआरतीपछि प्रसाद वितरण तथा एक–अर्काबीच शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
आयोजक संस्थाका अनुसार यस्ता धार्मिक, सांस्कृतिक तथा संस्कारमूलक कार्यक्रमहरूले नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति, पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व तथा अग्रवाल समाजको गौरवशाली परम्पराप्रति आत्मीयता र सम्मानको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल अग्रवाल सभा, धरान
नेपाल अग्रवाल महिला मंच,धरान


