
पूर्वी तेह्रथुमलगायतका जिल्लाहरूमा स्थानीयको आम्दानीको स्रोत सिस्नो बन्न पुगेको छ । पहाडमा फालाफाल पाइने सिस्नोलाई धुलो र मुना उत्पादनका माध्यमबाट बुनेको कपडा राजधानीदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुगेका छन् । आधुनिक प्रविधिमार्फत सिस्नोका कपडा उत्पादन हुनथालेपछि बजारमा माग बढ्न थालेको छ । सिस्नोको व्यवसायिक उत्पादनले अर्थतन्त्रमा मद्दत गरेको छ । केही समयसम्म पाखापखेरा, वनजङ्गल र खेतबारीमा आफै उम्रिने सिस्नो गरीवले खाने, कृषीको बाधकका रूपमा लिइन्थ्यो, अहिले त्यही सिस्नो आम्दानीको स्रोत र रोजगारी बनेको छ ।
पहाडी गाउँहरूमा सिस्नोको खेती बढेको छ । लोकल, पात्ले, अल्लो जातका सिस्नोको खेती बढेको छ । अल्लोको कपडा यतिबेला फेसन नै बन्न पुगेको छ । कतिपय स्थानीय पालिकाले त सिस्नो खेती गर्न, कपडा उत्पादन र प्रविधि विकासमा ध्यान दिन थालेका छन्, बैंकहरूले ऋण दिन्छन् र बजारमा माग बढेकाले उत्पादकलाई भ्याइ नभ्याइ छ । पर्यटकले समेत सिस्नोको तरकारी, अल्लोको कपडा लगाउने गरेका छन् ।


