
असार ३० गते । भुटानी शरणार्थी बनाएर नेपाली युवालगायतलाई अमेरिका पठाउने मुद्दामा १६ जनालाई सजाय भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो।
मुख्य दोषीलाई ४ वर्ष र मतियारलाई २ वर्ष कैद सजाय भएको छ । १० जनाले ४ वर्ष कैद सजाय पाएका छन् ।
सजाय पाउनेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ६ जना मतियार किटान भएका छन् ।
रायमाझीलाई २ वर्ष कैद र २० हजार जरिबाना र संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना भएको छ । राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबानाका साथै पदीय दुरुपयोग गरेकाले थप ६ महिना कैद बस्नुपर्नेछ ।
पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, गोबिन्दकुमार चौधरीलाई पनि ४ वर्ष कैद र ४० हजार जरिबाना भएको छ ।
केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र डा. इन्द्रजित राईलाई पनि ४ वर्ष कैद र ४० हजार जरिबाना भएको छ ।
पूर्वगृहमन्त्री खाँण मतियारको रूपमा तीन कसुरमा दोषी ठहर भएका छन् ।
खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्यविरुद्धको कसुरमा ६ महिना कैद किटान भएको छ ।
हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियालाई पनि तीनवटै कसुरमा दोषी ठहर गरिएको छ। हरिभक्त महर्जन र निरन्जनकुमार खरेल, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले २ वर्ष कैद र २० हजार जरिबानाको दण्ड पाएका छन् ।
बेचन झा ठगीमा परेका छन् । एक वर्ष कैद र १० हजार जरिबाना तिर्नुपर्नेछ ।
सरकरी लिखत किर्तेको कसुरमा पनि टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी दोषी देखिएका छन् ।


