
वैदेशिक रोजगारी : ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं, १७ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका १० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका ८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्वर नगरपालिका(६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्वर नगरपालिका ६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका(३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् ।
पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका २६ बाट मंगलबार तथा सन्जु, सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं महानगरपालिका १२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका ११ बाट बुधबार पक्राउ गरेको हो ।


