Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डलाई जिरोबाट हिरो हुने अवसर

२६ सोमबार , माघ २०७११० बर्ष अगाडि

प्रचण्ड सनक्क सन्किएर संविधानसभाबाट राजीनामा दिएर निस्केको भए के हुन्थ्यो? जे हुन्थ्यो, त्यसको कल्पना गर्नु बितण्डा, विध्वंश, हिंसा र प्रतिहिंसाको कल्पना गर्नुमात्र हो। त्यस्तो रक्तपातको सम्झना नगरौं। सहमति हुन्छ, संविधान बन्छ भन्ने विश्वास गरेर यसैका लागि आआफ्ना क्षेत्रबाट सबैले सकारात्मक सोच राखौं। बाँदरले झैं घाउ कोट्याएर मर्ने कुरा किन गर्ने? संविधान घोषणा र हतियार बिसाउनु एक्कैपटक हुनुपर्थ्यो, 'हतियार बिसाउनु' गल्ती भएछ भनेर आत्मालोचना गर्ने प्रचण्डप्रति पार्टीभित्र सहानुभूति बढे पनि 'संविधानसभामा नफर्कन सकिन्छ' भनेर सडकमा उत्रिएका प्रचण्ड १० लाख वाईसीएल बनाउँछु भनेर बोल्दा उनको साख अझ तल खस्क्यो। पटक पटक दुर्घटना हुनसक्छ भनेर प्रचण्डले सत्तावादीलाई धम्क्याइरहे, प्रधानमन्त्रीको निशर्त वार्ताको आह्वान भइसकेपछि पनि प्रचण्ड वार्तामा बस्न आनाकानी गरिरहेका छन्। यस बिलम्बले पनि प्रचण्डको इज्जत घटेको छ। जब एमाले अध्यक्ष केपी ओलीले प्रचण्डमाथि तिक्तता पोख्दै 'नाइजेरियाको बोकोहराम'सँग तुलना गरे, तव प्रचण्डको खस्केको साख उठ्न थालेको हो। जो बन्दुक बिसाएर, तमाम विद्रोही क्रियाकलाप त्यागेर लोकतन्त्रमा अवतरण गर्‍यो, ऊ कसरी बोकोहराम हुनसक्छ? शान्ति सम्झौताको आधा हिस्सालाई किनारा लगाएर संविधान बन्नै सक्दैनथ्यो। बनेपनि चल्नै सक्दैनथ्यो। बालुवाको महल हुन्छ भन्ने भेउ पाएपछि सत्तावादी सुशील र हल्लावादी ओली झस्किएर वार्ताका लागि आह्वान गर्नुपर्‍यो। प्रचण्ड र सत्तावादी जाने भनेको जनतामै हो, संसदमै हो। संसदमा जानका लागि वार्ता, छलफल, सहमति र संविधान निर्माणको विकल्प नै छैन। त्यसकारण अव न प्रचण्डले धम्क्याउन मिल्छ, न सुशील, ओलीले दुई तिहाईको फूर्ति लगाउन। हिंसा र राज्यदमन दुबैका लागि बाटो छैन। विश्व निगरानी गरिरहेको छ, दुबै मार्ग नेपाली जनता र विश्वजगत स्वीकार गर्न तैयार छैन। नेपाली जनता र विश्वजनमत छ: सहमति गर, संविधान बनाउ।
प्रचण्डको ठूलो गल्ती भनेको 'पहिचानका नाममा जातीयता नै हो।' सिरहाबाट प्रचण्ड र बाँकेबाट बाबुरामले आइतवार प्रष्ट पारे– जातिवादी, एकल जातीय संघीयताका पक्षधर भनेर हामीलाई बदनाम गरियो। यथार्थमा यही मुद्दाले गत मंसिर ४ को चुनावमा पाहा पछारिएझैं पछारिएको हो माओवादी। अन्यथा क्याडरबेस एमाओवादी, प्रचण्डले मात्र सवालाख पार्टी प्रवेश गराएका सबै परिचालित गरेर सिंगो मुलुकलाई संवोधन गर्न सकेको भए एमाओवादीको यस्तो 'दयनीय' हालत हुने थिएन। अहंकार कति खतरनाक हुन्छ, प्रचण्डको जीवनको सबैभन्दा ठूलो शिक्षा भएको छ। ०६३ सालपछि पहिलो पटक एमाओवादी किङपिनबाट नटबोल्टुमा झरेको हो। बादशाहबाट दुवा तिर्कीजस्तो देखिएको हो। यहीँनेर सत्तावादी कांग्रेस र एमाले पनि प्रचण्डलाई माइनस गर्दा शून्यमा झरिने रहेछ भन्ने आत्मबोध गर्न बाध्य भएका छन्र वार्ता गर्न अग्रसर देखिन्छन्।
कुनै दलमा एक जना पनि नेता हुन लायक व्यक्तित्व नदेखिने स्थितिमा अझै पनि प्रचण्ड उभिदा राजनेता नभए पनि नेताजस्ता देखिन्छन्। प्रचण्डले मुलुकका १ सय २५ जातिलाई संवोधन गर्न सके भने उनी सहमत भएको संविधानले एमाओवादीलाई फेरि पनि ठूलो पार्टी बनाउन सक्छ। 'बहुपहिचान भए तुरुन्तै सहमति हुन्छ' प्रचण्डको सुनसरीबाट गरेको पछिल्लो अभिव्यक्ति यही हो। सहमतिको सम्भाबना देखेका प्रचण्डले आशा जगाएका छन्, सत्तावादी लचकदार बनेका छन्। यो अवसर छिटोभन्दा छिटो उपयोग हुनु पार्टी पद्धति र देशका लागि हितकर हुनेछ। जातजातिलाई भिडाउन कसले खोज्यो? शान्ति सम्झौता र अन्तरिम संविधान कसले तेाड्यो? अधिकतम सहमति कसले सिध्यायो? अव हलेदो कोट्याएर कोक्याउने कुरा कसैले नगरौं। अन्तरिम संविधान र सहमतिको भावना कसैले नतोडौं। यतिबेला मुलुक बेग होइन, बिबेक खोजिरहेको छ। सरकार प्रश्नावली समितिलाई रोक्न तैयार छ। सत्तावादी र विपक्षीले वीन वीन अवस्था खोजेका हुन्, त्यसका लागि सबै तैयार भइसकेपछि वार्तामा बस्न भद्रो हेरिरहनु पर्ने केही छैन। वार्ता थाले हुन्छ। प्रचण्डलाई 'प्रचण्ड' बन्ने अवसर आयो। यो अवसरको सदुपयोग गरेर 'राजनेता' बन्न सक्छन् प्रचण्ड।