Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

प्रहरी सकृयता प्रशंसनीय

२८ बिहिबार , जेठ २०८३११ घण्टा अगाडि

प्रहरी सकृयता प्रशंसनीय

लागूऔषध सहित १६ जना पक्राउ
काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका ६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
उदयपुर, चौदण्डीगढी नगरपालिका ६ बगरकोट बस्ने १९ वर्षीय काले भन्ने नितेश विक समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले नितेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
बर्दिया, गुलरिया गाउँपालिका ९ टेपरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश राणा र ३१ वर्षीय गेद बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बाँके, कोहलपुर नगरपालिका २ पिपल चौतारा प्रतिक्षालय नजिकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका ३ बस्ने २९ वर्षीय बिशाल थापा मगर र कोहलपुर नगरपालिका १ बस्ने ४८ वर्षीय जगत बहादुर परियार रहेका छन् । इलाका प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
चितवन, भरतपुर महानगरपालिका ३ नौघरे डेरा गरी बस्ने धादिङ घर भएकी ६० वर्षीया ज्ञानु कुमारी श्रेष्ठ र उनकै छोरा ३७ वर्षीय प्रकाश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ९ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
ललितपुर, गोदावरी नगरपालिका १४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २० ट्याब्लेट सहित गोदावरी नगरपालिका १४ लाखेटोल बस्ने २२ वर्षीय राजिब भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
जुम्ला, तातोपानी गाउँपालिका ५ बस्ने २० वर्षीय वरिष्ठ डाँगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा रहेका थुनुवालाई भेट्न आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो । 
सुनसरी, बराहक्षेत्र नगरपालिका १ दूधपानी खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ राजवास बस्ने २४ वर्षीय दिपेन्द्र मोची, इटहरी उपमहानगरपालिका १६ बस्ने २७ वर्षीय दिपेश चौधरी र २८ वर्षीय सरोज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १ ०२ ०४४ प ७२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
मोरङ, विराटनगर महानगरपालिका १६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २१ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने २८ वर्षीय सुजन लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३३ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमाठगी गर्ने चार पक्राउ
काठमाडौं, २७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका ३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका(७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका ६ बस्ने झापा भद्रपुर नगरपालिका २ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका १८ बस्ने तनहुँ भानु गाउँपालिका १२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका    छन् । 
पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका ३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका ६ बाट मंगलबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ ।

अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने पक्राउ
काठमाडौं, २७ जेठ । अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका ३ बस्ने गोरखा आरूघाट गाउँपालिका ७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका ११ सतुङ्गलबाट पक्राउ गरेको हो । 
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुनस् प्रमाणिकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि बिबसको बैंकमा २ करोड १३ लाख रूपैयाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपैयाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौंको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको छ । 
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डाँका कसुरमा संलग्न दुई जना पक्राउ
झापा, २७ जेठ । डाँका कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका ६ भानुटोल बस्ने ३३ वर्षीय प्रलाद कार्की र सोही नगरपालिका ७ कंचनजंघा टोल बस्ने २२ वर्षीय बिशाल बास्कोटा रहेका छन् । 
मेचीनगर नगरपालिका ६ स्थित २ जना अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौं भन्दै पीडितको सुनको फुली १ थान, मोबाइल १ थान, नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले प्रलादको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम र सुनको फुली १ थान फेला पारी बरामद गरेको छ । 
उनीहरू उपर डाँका सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसुरमा जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल सहित एक जना पक्राउ
कैलाली, २७ जेठ । धनगढी उपमहानगरपालिका ५ सत्कार चोक डेरा गरी बस्ने भारत लखिमपुरखिरी घर भएका २४ वर्षीय साहिल खानलाई कटुवा पेस्तोल १ थान, चाँदीका गहना, डिजिटल काँटा, फलामको रड र खुकुरी १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ
काठमाडौं, २७ जेठ । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न काठमाडौं बस्ने मकवानपुर मनहरी गाउँपालिका २ घर भएका ३३ वर्षीय विकास भुलन लगायत १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशाला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ ।
उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।